close

जिल्ला सभापतिमा कांग्रेस नेताहरूको रस्साकस्सी

जिल्ला सभापतिमा कांग्रेस नेताहरूको रस्साकस्सी

Trulli
ADVERTISEMENT

जुम्ला– नेपाली कांग्रेसको वडा तहको अधिवेशनमा सहमतिमा नेतृत्व चयन भए पनि जिल्ला सभापतिमा भने नेता कार्यकर्ताको रस्साकस्सी हुने देखिएको छ ।जिल्ला सभापतिमा वर्तमान सभापति दीपबहादुर शाही, पार्टी सचिव कर्णबहादुर शाही, नेता खड्क सेजुवाल, पूर्ववनमन्त्री भक्तबहादुर रोकाया, लंकबहादुर शाही र चन्दननाथ नगरप्रमुख कान्तिका सेजुवालको नाम चर्चामा छ ।

 

जिल्ला अधिवेशन नजिकिँदै गएपछि जिल्ला सभापतिका लागि आधा दर्जन आकांक्षी नेताहरूको नाम चर्चामा आएको हो । सभापतिको तयारीका लागि कार्यकर्ता भेटघाट तथा नेतासँग लबिइङ गरिरहेका छन् ।  १४औँ महाधिवेशनमा वर्तमान सभापति शाहीले दोहोरिने इच्छा देखाएका छन् । पौडेल पक्षले शाहीलाई एकल उम्मेदवारको रूपमा उभ्याएको छ ।

 

पार्टी सभापति शेरबहादुर देउवा प्यानलबाट पाँच जना आकांक्षी देखिएका छन् । सचिव कर्णबहादुर शाही, खड्कबहादुर सेजुवाल, भक्तबहादुर रोकाया, लंकबहादुर शाही र कान्तिका सेजुवाल आकांक्षी देखिएको कांग्रेस जुम्लाले जनाएको छ ।


आकांक्षी धेरै देखिए पनि अन्तिममा सभापति शाही र सचिव शाही नै भिड्ने सम्भावना बढी छ । अहिले दुवै पक्षले कार्यकर्ता भेटघाटलाई तीव्र बनाएका छन् । 
पौडेल पक्ष निकटले पार्टी सचिव कर्णबहादुर शाही पर्यटक नेता भएको भन्दै स्वीकार्न नसक्ने बताउँदै आएको छ । उनी सचिव भइसकेपछि जिल्ला बसेनन् ।

 

जुम्लामै रहने नेता कार्यकर्ताले काठमाडौंमै बसेर नेताको वरिपरि घुमेर पर्यटक नेताका रूपमा अधिवेशनमा नेतृत्व दाबी गर्न आएकाले यो निरन्तर पार्टीको काममा लागेका नेता कार्यकर्तालाई निरुत्साहित बनाउने काम भएको बताउँदै आएका छन् । 


जिल्ला सभापतिका आकांक्षी धेरै देखिएपछि कार्यकर्ताले सहमति गरेर सर्वसम्मत नेतृत्व चयनका लागि दबाब दिन थालेका छन् । कार्यकर्ताले दीपबहादुर शाही र कर्णबहादुर शाही दुवै आफ्नो कार्यकालमा सन्तोषजनक कार्य नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।


यी दुवै आकांक्षी उस्तै हुन् । तर, तुलनात्मक रूपमा दीपबहादुर शाही जुम्लामै रहेर काम गरेकाले कार्यकर्ताको नजरमा परेका छन् । तत्कालीन कांग्रेस सभापति मानव सेजुवालको निधनपछि शाहीले कार्यवाहक सभापतिको रूपमा जिल्लाको पार्टी चलाउँदै आएका थिए ।


दुई कार्यकाल बितिसकेकाले सभापति शाहीले नयाँ व्यक्तिलाई अवसर दिनुपर्ने कार्यकर्ताको धारणा छ । सिँजा गाउँपालिका अध्यक्ष तथा कांग्रेस नेता देवलसिंह रावल कार्यकर्ताको मनोभावना बुझ्ने, पार्टीका लागि खटिने र जनतामाझ लोकप्रिय रहेको नेतृत्व अहिलेको आवश्यकता रहेको बताउँछन् । उनले भने, ‘सभापतिका लागि जिल्लामा दुई खेमा देखिन्छ । पार्टीलाई माया गर्ने र संकटमा पार्टी हाँक्ने नेतृत्व चयन हुनुपर्छ । सबैको साझा नेतृत्व अहिले आवश्यक छ ।’

 

जुम्लामा भर्खरै वडा अधिवेशन सकिएको छ । वडामा पनि आफ्नो अनुकूलका आधारमा नेतृत्व चयन गर्ने काम भइरहेको छ । सभापति दीपबहादुर शाहीले भने, ‘यसपटक म सभापतिको आकांक्षी हो । कार्यकालमा बाँकी रहेका अधूरा काम पूरा गर्नु छ ।’


जुम्ला कांग्रेसभित्र देउवाभन्दा पौडेल समूह बलियो मानिन्छ । जिल्ला अधिवेशनको अन्तिमसम्म सहमतिको अधिकतम प्रयत्न जारी राख्ने उनले बताए । 
सभापतिका अर्का आकांक्षी कर्णबहादुर शाहीले पनि भेटघाट तीव्र बनाएका छन् । सभापति शाहीले जुम्लाका ८ मध्ये ४ वटा स्थानीय तहमा जित हासिल गर्नु आफ्नो कार्यकालको महत्त्वपूर्ण उपलब्धि भएको बताए ।

 

‘म पार्टी सभापति भएपछि थुपै्रै ठाउँमा कम्युनिस्ट पार्टीका कार्यकर्ता प्रवेश गराउन सफल भएका छौँ । स्थानीय तहमा पनि जित्यौँ । अहिले कांग्रेसको पक्षमा जिल्लाभर माहोल छ । यो माहोल बिग्रन नदिन एक पटक फेरि मेरो नेतृत्वमा कांग्रेस अघि बढ्नुपर्छ भन्ने मान्यता छ’, उनले भने ।  अर्का सचिवसमेत रहेका कार्मा बुढाले पार्टी हित नै आफ्नो हित भएकाले सर्वसम्मत नेतृत्वका लागि अधिकतम प्रयत्न गरिने जानकारी दिए । उनले भने, ‘पार्टीलाई जीवित राख्न एक नभई सुखै छैन । एकल र सहमतीय नेतृत्व चयनका लागि सबै एकमत हुनुको विकल्प छैन । त्यसका लागि सक्रिय नेता, कार्यकर्ता र समर्थक, शुभचिन्तकले पहल गर्नुपर्छ । यो अधिवेशनमा पार्टी सिंगो एक भएर अघि बढेको सन्देश फैलाउन जरुरी छ ।’ 


२७ भदौमा गाउँपालिका स्तरीय अधिवेशन, १ असोजमा प्रदेश क्षेत्रस्तरीय अधिवेशन र ५ असोजमा जिल्ला अधिवेशन हुँदै छ । कांग्रेसभित्र अहिले गुटगत छुट्टाछुट्टै छलफल र बहस सुरु हुन थालेका छन् । 


अहिलेका सचिव तथा सभापतिका आकांक्षी कर्णबहादुर शाहीले दुई महिनाअघि सभापतिको उम्मेदवारी घोषणा गरेको बताए । उनले भने, ‘साथीभाइ, नेता कार्यकर्ताको सल्लाहमा उम्मेदवारी घोषणा गरेको हुँ । अहिले धेरै आकांक्षी देखिए पनि सहमतिमै नेतृत्व चयन हुनेछ ।’ जुम्लामा एक नगरपालिकासहित ८ स्थानीय तह र ६० वटा वडा छन् ।