close

जुम्ला एमालेका बहुमत जनप्रतिनिधि मूलधारमै 

जुम्ला एमालेका बहुमत जनप्रतिनिधि मूलधारमै 

Trulli
ADVERTISEMENT

जुम्ला– नेकपा एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत चयन भएका छन् । एमाले जिल्ला अध्यक्ष तीर्थ बुढा नेकपा एकीकृत समाजवादीमा लागेपछि एमाले जुम्लाले अध्यक्ष पदका लागि महतसहितको नयाँ कमिटी विस्तार गरेको छ । 

 

एमाले जुम्लाले गरेको कार्यकर्ता भेलामा अध्यक्ष महतसहित १४९ जना जिल्लाको कमिटी गठनका लागि प्रस्ताव गरेको हो । प्रस्तावित कमिटीको सोमबार हुने बैठकले अनुमोदन गर्ने एमाले जुम्लाले जनाएको छ । 


शनिबार नेकपा एकीकृत समाजवादीले आफ्नो कित्ता छुट्याएपछि एमाले जुम्लाले कार्यकर्ताको शक्ति प्रदर्शन गर्दै पछिल्लो आइतबार उद्योग वाणिज्य संघको हलमा भेला सम्पन्न गरेको छ । भेलामा एमाले कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी, पूर्वराज्यमन्त्री बलबहादुर महतले सम्बोधन गरे । 


प्रदेश अध्यक्ष बोगटीले एमाले विभाजनपछिको समसामयिक राजनीतिक अवस्थाका विषयमा कार्यकर्तालाई जानकारी गराए । उनले भने, ‘एमाले अब नयाँ शिराबाट अगाडि बढेको छ । एमालेमा नरहेका माधव नेपालसहितका नेता पार्टीबाट चोइटिएका हुन् ।’


पूर्वराज्यमन्त्री बलबहादुर महतले जुम्लामा एमालेको सिंगो पंक्ति एकढिक्का भएकाले सबैभन्दा ठूलो पार्टी भएको दाबी गरे । प्रदेश कमिटी सदस्य मेनका पछाईले एमाले फुटाएर कमजोर गर्ने प्रयास सफल नहुने दाबी गरिन् । 

 

बहुमत जनप्रतिनिधि एमालेमै


जुम्लामा बहुमत जनप्रतिनिधि एमालेमै भएको दाबी गरिएको छ । जिल्लाभरि पार्टी विभाजनपछि जनप्रतिनिधि र पार्टीको अवस्थाका विषयमा रिपोर्टिङ गरिएको छ ।

जनप्रतिनिधिको अवस्थाको विषयमा तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले जिल्लाभर एमालेले जितेको ६० वडामा ९३ जना जनप्रतिनिधिमा ५६ जना एमालेमै रहेको दाबी गरे । एक अध्यक्ष, ६ वडाध्यक्ष, ४९ जना वडा सदस्य एमालेमै रहेको उनले बताए ।

 

सनाखत गरे पनि एमालेमै रहेको घोषणा 

चन्दननाथ नगरपालिका वडा नम्बर ७ का सदस्य काली कामीले आफूले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरे पनि एमालेमै रहेको घोषणा गरेकी छन् । 


२२ भदौसम्म सनाखत गर्ने अवधि भएकाले एमाले र नेकपा एसमा कति जनप्रतिनिधि कता लागे भन्ने अन्तिम नतिजा नआएको निर्वाचन आयोग जुम्लाले जनाएको छ । 

 

पार्टीको अवस्थाबारे चन्दननाथ नगरपालिकामा धर्मेन्द्र रोकाया, कनकासुन्दरी गाउँपालिकामा मानबहादुर रोकाया, सिञ्जामा युवराज बम, हिमामा जयबहादुर खत्री, तिलामा शान्तिनाथ योगी, तातोपानीमा सुरतबहादुर शाही, गुठीचौरमा प्रेमबहादुर बुढा र पातारासीमा हंस रोकायाले पार्टी विभाजनपछिको अवस्था प्रस्तुत गरेका थिए ।