close

बागलुङका ७१ वडामा एमालेको सर्वसम्मत नेतृत्व

बागलुङका ७१ वडामा एमालेको सर्वसम्मत नेतृत्व

Trulli
ADVERTISEMENT

बागलुङ– नेकपा एमालेको वडा अधिवेशनले बागलुङका ७१ वडामा नेतृत्व चयन गरेको छ । अधिवेशन भएकामध्ये अधिकांशमा महिला नेतृत्व शून्य छ ।  अधिवेशन हुन बाँकी १४ वडामा पनि महिला नेतृत्वमा आउन सक्ने सम्भावना छैन । कमिटीमा ३३ प्रतिशत बढी महिला सहभागिता रहेको दाबी गरिए पनि मूल नेतृत्वमा पुरुष मात्र चुनिएका हुन् ।


जिल्लाका ८५ वडामध्ये एउटामा पनि महिला नेतृत्व चुनिन नसकेका हुन् । एमालेका महिला नेता, कार्यकर्ता पनि त्यसप्रति असन्तुष्ट छन् । एमाले निकट अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष सावित्रा रानाले निर्णायक ठाउँमा हुँदाहुँदै पनि महिलालाई नेतृत्वमा उभ्याउन नसकिएको बताइन् ।


‘झट्ट हेर्दा महिला नेतृत्वमा नआएजस्तो देखिए पनि वडा किमिटीमा अर्थपूर्ण सहभागिताको सुनिश्चितता भएको छ’, उनले भनिन्, ‘आफ्नो योग्यता, क्षमता बढाउँदै नेतृत्व विकास गरेर अघि आउने वातावरण महिलालाई बनेको छ ।’

 

गण्डकी प्रदेशसभा सदस्यसमेत रहेकी रानाले पहिलेदेखि नै जकडिएको संरचनाका कारण राजनीतिको अग्र भागमा पुरुष देखिने गरेको बताइन् ।
समावेशिताको आवाज उठ्न थालेपछि पहिलेको तुलनामा राजनीतिमा महिलाको सहभागिता बढेको उनको भनाइ छ ।


‘हामीले अपेक्षा गरेझैँ भएको छैन तर केही उपलब्धि पक्कै भएका छन् । त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ’, उनले भनिन्, ‘नेतृत्वदायी भूमिकामा आउन नसक्नुलाई महिलाको अक्षमतासँग जोडेर हेर्न मिल्दैन ।’


पार्टीमा लामो समय योगदान गरेका पुरष नेतामाथि अन्याय हुने ठानेर पनि कतिपय महिला नेतृत्वमा आउन हिच्किचाउने गरेका छन् । समावेशिताका नाममा महिलालाई नेतृत्वमा ल्याउँदा पुरुषलाई अन्याय हुने भन्ने दयापूर्ण मनोदशा पनि बेलाबेला राजनीतिमा देखा पर्छ ।


प्रदेशसभा सदस्य रानाले अहिलको वडा अधिवेशनमा महिला पनि नेतृत्वका हकदार हुन् र सक्षम छन् भन्ने परिदृश्य देखिएको बताए । एमाले जिल्ला सचिव विष्णु भुसालले अध्यक्षमै नआए पनि पदाधिकारीसहित किमिटीमा महिलाको राम्रो उपस्थिति रहेको बताए । 

 

‘वडा कमिटीमा ३३ प्रतिशतभन्दा बढी नै महिला चुनिनुभएको छ, यसलाई राम्रो उपलब्धि मान्नुपर्छ’, उनले भने । योगदान, क्रियाशीलता, समय व्यवस्थापन आदि कारणले नेतृत्वमा पुरुषको अग्रसरता बढी देखिनु स्वाभाविक रहेको सचिव भुसालले बताए । वडा तहमा बसेर पार्टी काममा क्रियाशील हुने महिलाको संख्या न्यून भएको स्थितिमा अहिले देखिएको सहभागितालाई सकारात्मक रूपमा लिनुपर्ने उनको तर्क छ ।


‘नेतृत्वमा महिला आउन अक्षम हुनुहुन्छ भन्ने होइन । यही प्रक्रियाबाट महिला अघि आउने वातावरण बन्छ । पार्टीले त्यसका लागि उपयुक्त भूमिका खेल्छ’, उनले भने ।


शनिबार भएको वडा अधिवेशनमा बागलुङका ७१ वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । बाँकी रहेका १४ वडामा आइतबारदेखि अधिवेशन प्रक्रिया सुरु भएको एमाले जिल्ला कमिटीले जनाएको छ ।