close

दलका पालिका अधिवेशन : बागलुङमा महिला नेतृत्व शून्य

दलका पालिका अधिवेशन : बागलुङमा महिला नेतृत्व शून्य

Trulli
ADVERTISEMENT

बागलुङ–  नेकपा एमाले र नेपाली कांग्रेसको पालिका अधिवेशनबाट बागलुङमा महिला नेतृत्व  शून्य भएको छ । दसैँअघि नेपाली कांग्रेसले गरेको दशवटै स्थानीय तहको अधिवेशनमा महिला नेतृत्व शून्य भएको बागलुङमा एमाले अधिवेशनले पनि महिलालाई नेतृत्वमा ल्याउन नसकेको हो । 

 

संविधानमानै ३३ प्रतिशत महिलाको अधिकार सुनिश्चित गरेका दलहरुलेनै आफ्नै पार्टी संरचनामा महिलाको नेतृत्व पुरयाउन सकेका छैनन् । बागलुङमा जारी रहेको नेकपा एमालेको पालिका अधिवेशन अन्तर्गत ६ वटा स्थानीय तहमा पुरुष अध्यक्ष बनेका छन् ।

 

कांग्रेस र एमाले दुवैले जिल्लाका ८५ वडामध्ये कुनैपनि वडामा महिला अध्यक्ष निर्वाचित गर्न सकेनन् । दलहरुका विधानमा समेत ३० देखि ४० प्रतिशत महिला हुनुपर्ने उल्लेख भए पनि आफ्नै विद्यान विपरीत नेतृत्व चयन गरेका हुन् ।  

 

एमालेको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएका बागलुङका ६ वटा पालिकामा पुरुषनै नेतृत्वमा आए । तमान खोला गाउँपालिकामा उपाध्यक्ष बाहेक अन्य पालिकामा उपाध्यक्ष समेत पुरुषनै भए । अधिवेशन हुन बाँकी रहेको जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र निसीखोला गाउँपालिकमा पनि पुरुष नै नेतृत्वमा आकांक्षी छन् भने आजका लागि निर्वाचनको समय तोकिएको बागलुङ नगरपालिकामा ६ जना पुरुष अध्यक्षका आकांक्षी छन् ।  

 

महिला प्रमुख हुन विधानमानै तोकिनुपर्ने हो र ? खै त नेतृत्वको सोच ? एमाले बागलुङकी क्रियाशील नेतृ ममतादेवी शर्माले सामाजिक सञ्जालमा लेखेकी छिन् । अखिल नेपाल महिला सङ्घ बागलुङकी संयोजक सावित्रा रानाले महिला नेतृत्वमा आउने वातावरण नै तयार नभएको बताइन् । नेतृत्वमा ल्याउनका लागि पहिलेदेखिनै महिलाका लागि राजनीतिमा सहज वातावरण बनाउनुपर्ने उनको तर्क छ ।


दलहरुले नै बनाएको संविधानअनुसार स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुनुपर्ने बाध्यात्मक व्यवस्था छ । तर आफैले बनाएको विधि दलहरुले माननेन् । बागलुङमा स्थानीय तहको निर्वाचनका समयमा कागजमा एकथरी, मैदानमा अर्कोथरी उम्मेदवार खडा भए । पार्टी मिलेर चुनावी मैदानमा जाँदा उम्मेदवारी कायम रहेका महिलालाई मत मागेनन् । कानूनी अड्चन नआउनेगरी उम्मेदवारी फिर्तादेखि मत माग्न लगाउनेसम्मका काम भए । फलस्वरुप बागलुङका चार वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख पुरुषनै छन् । 

 

कानूनी व्यवस्था भए पनि निर्वाचनको समयमा प्रक्रिया मिलाएर उनीहरु प्रमुख र उपप्रमुख भए । दुई फरक राजनीतिक दलबाट सहभागी छन् । स्थानीय तहमा महिलाको सहभागिता न्यून बनाएका राजनीतिक दलहरुले पार्टीको आन्तरिक निर्वाचनमासमेत वडा र पालिका तहमा महिलालाई नेतृत्व दिन सकेनन् । वडा र पालिकामा भएको अधिवेशनमा नेतृत्वमा मात्रै होइन पदाधिकारीमा समेत महिला शून्यप्राय देखिए । महिलाले नेतृत्व नपाएको असन्तुष्टि त प्रश्स्तै छन् तर जाने ठाउँ छैन् । साना राजनीतिक दलहरुको तुलनामा बागलुङमा ठूला राजनीतिक दलमा महिला नेतृत्वमा कम आउने गरेका छन् ।