close

कांग्रेस महाधिवेशन : रूपन्देहीमा भिड्दै छन् प्रदेशमन्त्री, सभासद् देखि नगरप्रमुखसम्म

कांग्रेस महाधिवेशन : रूपन्देहीमा भिड्दै छन् प्रदेशमन्त्री, सभासद् देखि नगरप्रमुखसम्म

Trulli
ADVERTISEMENT

रूपन्देही–नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत क्षेत्र ५ मा वसिउल्लाह मुसलमान निर्वाचित भएका छन् । अन्य क्षेत्रमा देउवा र पौडेल प्यानल बनाएर उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् भने ५ मा भने निर्विरोध नेतृत्व चयन भएको हो । सोमबार सम्पन्न अधिवेशनबाट क्षेत्र ५ मा सभापतिमा मुसलमानसहित पदाधिकारी नै निर्विरोध निर्वाचित भएका हुन् ।

 

क्षेत्रीय सचिवमा अशोककुमार गोस्वामी र कृष्णप्रसाद शर्मा तथा सहसचिवमा हरि घिमिरे र चिरञ्जीवी खनाल निर्विरोध निर्वाचित भएको प्रमुख मतदान अधिकृत नूरजंग केसीले बताए ।


क्षेत्र ५ मा महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सदस्यसमेत सर्वसम्मत चयन भएका छन् । यसअघि सम्पन्न रूपन्देहीको सो निर्वाचन क्षेत्रअन्तर्गतको प्रदेशसभा क्षेत्रीय अधिवेशनले निर्विरोध नेतृत्व चयन गरेको थियोे । सो निर्वाचन क्षेत्र कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य एवं सार्वजनिक लेखा समिति सभापतिसमेत रहेका भरतकुमार शाहको हो ।


कांग्रेसबाट स्थानीय तहमा प्रतिनिधित्व गर्ने स्थानीय तहका प्रमुखसँगै लुम्बिनी प्रदेशमा मन्त्री रहेकाहरूले समेत क्षेत्रीय अधिवेशनको विभिन्न पदमा उम्मेदवारी दिएका छन् । 


कांग्रेसबाट लुम्बिनी प्रदेशसभा सदस्य रमा अर्याल, पुष्पा थरुनी, वसिउद्दिन खाँ, फकरुद्दिन खाँ, अष्टभुजा पाठकले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् ।


लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्रीसमेत रहेका नेता वसिउद्दीन खाँ र अष्टभुजा पाठकले निर्वाचन क्षेत्र ४ बाट उम्मेदवारी दिएका छन् । यस्तै, रमा अर्याल र पुष्पा थरुनीले निर्वाचन क्षेत्र ३ र फकरुद्दिन खाँ निर्वाचन क्षेत्र ५ बाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् ।


कांग्रेसको जिल्ला सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेका गृहमन्त्रीका भाइ रामकृष्ण खाँणले क्षेत्र ३ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् ।
मायादेवी गाउँपालि अध्यक्ष धु्रवनारायण चौधरीले निर्वाचन क्षेत्र ४ र देवदह नगरपालिका प्रमुख हिरा केसीले निर्वाचन क्षेत्र १ को सभापतिमा उम्मेदवारी दिएका छन् । यस्तै, संविधानसभा सदस्यसमेत रहेका इस्तियाक अहमद खाँनले क्षेत्र ३ बाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका छन् ।


निर्वाचन क्षेत्र १ मा हिरा केसी र विश्वनाथ यादव सभापति लागि आ–आफ्नो प्यानलै खडा गरी चुनावमा होमिएका छन् । क्षेत्र २ मा काजीमान श्रेष्ठ र वर्तमान क्षेत्रीय सभापति हरि लम्सालले आ–आफ्नो प्यानल बनाई उम्मेदवारी दिएका छन् ।


निर्वाचन क्षेत्र ३ मा वर्तमान क्षेत्रीय सभापति मात्रिकाप्रसाद यादव र सुशील गुरुङको प्यानलबीच स्पर्धा हुँदै छ । क्षेत्र ४ मा पनि वर्तमान क्षेत्रीय सभापति मुकेश यादव र विनोद श्रीवास्तवबीच प्यानलै बनाएर चुनाव हुँदै छ । निर्वाचन क्षेत्र ५ मा वर्तमान सभापति वसिउल्लाह खाँकै नेतृत्वमा सबै पद सर्वसम्मत चयन भएको मुख्य निर्वाचन अधिकृत भेषराज घिमिरेले बताए ।