close

दाङ कांग्रेस निर्वाचनको नतिजा सार्वजनिक

दाङ कांग्रेस निर्वाचनको नतिजा सार्वजनिक

Trulli
ADVERTISEMENT

दाङ– नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र १ को क्षेत्रीय सभापतिमा संस्थापन निकट भेषराज पाण्डे विजयी भएका छन । उनले निकटतम प्रतिद्वन्द्वी सर्वजीत डिसीलाई १ सय ६५ मतान्तरले हराएर निर्वाचित भएका हुन् ।


पाण्डेले ४२२ मत प्राप्त गरेका थिए भने डिसीले २५७ मत प्राप्त गरे । अन्य पदमा पनि प्यानलसहित विजयी भएका छन् । दाङ क्षेत्र २ को सभापतिमा भीमप्रकाश खड्का विजयी भएका छन् । संस्थापन निकट खड्काले प्रतिद्वन्द्वी चित्रबहादुर डाँगीलाई १०० मतान्तरले पराजित गरे । 


खड्काले ३६६ मत प्राप्त गर्दा संस्थापन इतरका डाँगीले २६६ मत प्राप्त गरे । बुधबार प्राप्त मत परिणामअनुसार सचिवमा खड्का प्यानलकै आरके शितल र डाँगी प्यानलका हिमबहादुर डाँगी समान ३२१ मत प्राप्त गरी विजयी भए ।

 

आरके शितल पत्रकार महासंघ दाङ शाखाका सचिव पनि हुन् । त्यस्तै, सहसचिवमा खड्का प्यानलका रमेशकुमार पाण्डे ४०२ र रञ्जित श्रेष्ठ ३३९ मत प्राप्त गरी निर्वाचित भए ।


पाण्डे घोराही उपमहानगर वडा नम्बर १५ का वडाध्यक्ष हुन् ।  दाङको निर्वाचन क्षेत्र २ मा कुल ६५१ मतदातामध्य ६४२ मत खसेको थियो । नयाँ नेतृत्वका लागि मंगलबार मतदान भएको हो ।


क्षेत्र ३ को सभापतिमा जगतबहादुर खड्का निर्वाचित भएका छन् । यहाँ संस्थापन इतरका खड्काको प्यानल नै निर्वाचित भएको छ । खड्काको यो लगातार तेस्रो जित हो । निर्वाचित खड्काले ४३८ मत प्राप्त गर्दा प्रतिस्पर्धी संस्थापन पक्षधर सुरेन्द्र खड्काले ३११ प्राप्त गरे ।


एकल उम्मेदवार किरण बहादुर शाहले भने ६८ मत मात्रै प्राप्त गरे । सचिवमा खड्का प्यालनका शोभाकर सापकोटाले ४६० र पूर्णबहादुर खत्रीले ४१६ मत प्राप्त गरी निर्वाचित भए । उनीहरूका प्रतिस्पर्धी रवि बुढाथोकीले ३३५ र भेषराज डाँगीले ३०५ मत प्राप्त गरे ।


सहसचिवमा भीमकान्त भट्टराई ४ सय ४८ र डेफुलाल चौधरी ४३८ मत प्राप्त गरी निर्वाचित भए । निकटतम प्रतिस्पर्धी भूपबहादुर केसीले ३७३ र तनुजसिंह ओलीले २६४ मत प्राप्त गरे । निर्वाचन क्षेत्र ३ मा कुल ८४७ मतदातामध्ये ८४४ जनाले मतदान गरेका थिए । ३ जना भने मतदानमा अनुपस्थित भए ।

 

खुमबहादुरपुत्र अनुराग पनि निर्वाचित
कांग्रेसका स्व. नेता खुमबहादुरका पुत्र अनुराग खड्का कांग्रेसको सक्रिय राजनीतिमा होमिएका छन् । कांग्रेस १४औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र १ को अधिवेशनमा अनुराग महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । उनले सर्वाधिक मत पाएका छन् ।


खड्काले कांग्रेसको संस्थापन पक्षबाट सहज जित हात पारेका छन् । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा जानकीलाल बस्नेत, कर्णबहादुर बुढाथोकी, किरणकिशोर घिमिरे, कृष्णकिशोर घिमिरे, चन्द्रबहादुर घर्ती, प्रदीपराज शर्मा, मधु न्यौपाने, मोहन गिरी, हरिप्रसाद भुसाल निर्वाचित भए ।