close

कांग्रेस महाधिवेशन : दाङको नेतृत्वका लागि उम्मेदवारी दर्ता हुँदै

कांग्रेस महाधिवेशन : दाङको नेतृत्वका लागि उम्मेदवारी दर्ता हुँदै

Trulli
ADVERTISEMENT

दाङ– नेपाली कांग्रेसको १४आँै महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका, नगर, क्षेत्रीय प्रदेशसभा र संघीय क्षेत्रको निर्वाचन सम्पन्न भएका छन् । अब जिल्लाको नेतृत्वका लागि दौडधुप सुरु भएको छ । १० मंसिरमा उम्मेदवारी दर्ता र ११ मा निर्वाचनको मिति तोकिएको छ ।


जिल्लाको नेतृत्व आफ्नो पक्षमा पार्न केन्द्रीयदेखि जिल्ला स्तरसम्मै कांग्रेस नेताहरूको दौडधुप चलिरहेको छ । कसलाई टिकट दिने र नेतृत्व आफ्नो पक्षमा पार्ने भन्ने रणनीतिमा सबै लागेका छन् । कांग्रेसको विधानअनुसार जिल्ला अधिवेशनले कम्तीमा १० वर्ष निरन्तर पार्टीको क्रियाशील सदस्य भएको केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट जिल्ला सभापतिको निर्वाचन गरिनेछ ।

 

सभापति १, कार्यसमितिका लागि उप–सभापति २, सचिव २ र सह–सचिव २ को निर्वाचन गर्नेछ । सभापति पदको निर्वाचनमा विजयी हुन खसेको मतको ५० प्रतिशत बढी मत ल्याउनुपर्नेछ । सभापति पदको पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत बढी मत नल्याए सबैभन्दा बढी मत ल्याउने २ उम्मेदवारका बीचमा पुनः मतदान गरी बढी मत ल्याउनेलाई विजयी घोषणा गरिनेछ । 

 

तर, पहिलो पटक नै २ जना मात्र उम्मेदवार भए बढी मत प्राप्त गर्ने विजयी हुनेछ । सभापतिले जिल्ला कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी कार्यसमितिबाट निर्वाचित कोषाध्यक्ष १, जिल्ला अधिवेशनले जिल्ला अधिवेशनका प्रतिनिधिमध्येबाट प्रत्येक गाउँपालिकाबाट कम्तीमा १ महिलासहित २, नगरपालिकाबाट कम्तीमा १ महिलासहित ३, उपमहानगरबाट कम्तीमा २ महिलासहित ५, महानगरबाट कम्तीमा ३ महिलासहित ७ जना सदस्य प्रत्यक्ष निर्वाचित गर्नेछ ।


महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र र सबै स्थानीय तहबाट जोडेर प्रत्यक्ष निर्वाचित हुने सदस्य संख्याको २ तिहाइ सदस्य जिल्लाको सम्पूर्ण जनसंख्याको बनोटअनुसार निर्वाचित गर्नेछ ।

 

अल्पसंख्यक वा अपांगता भएका व्यक्तिमध्ये १ जना प्रत्यक्ष निर्वाचित गर्नेछ । कार्यसमितिमा १ तिहाइ महिला सदस्य हुनुपर्ने व्यवस्था छ । समानुपातिक समावेशी सिद्धान्त र अपांगता भएका वा अल्प संख्यकको प्रतिनिधित्वसमेतलाई ध्यानमा राखी कार्यसमितिको कुल संख्याको २० प्रतिशत सदस्य मनोनीत गर्नेछ ।


दाङमा ४५ जना सदस्यमध्ये १० वटा स्थानीय तहबाट २७ सदस्य र अन्य समावेशी प्रतिनिधित्वबाट १८ जना निर्वाचित हुनेछन् । खस आर्य ३ महिलासहित ७ जना, आदिवासी जनजातिमा १ महिलासहित ३ जना, दलितमा १ महिलासहित २, थारुमा २ महिलासहित ५, मधेसी मुस्लिम अल्पसंख्यकबाट १ जना गरी १८ जना निर्वाचित हुने व्यवस्था रहेको जिल्ला निर्वाचन समितिका कार्यवाहक निर्वाचन प्रमुख युवराज बस्नेतले जानकारी दिए ।


पालिका स्तरबाट तुलसीपुर उपमहानगर, घोराही उपमहानगरमा २ महिलासहित ५÷५ जना, लमही नगरपालिकाबाट १ महिलासहित ३ जना उम्मेदवार रहनेछन् । त्यस्तै, बबई, शान्तिनगर, बंगलाचुली, दंगीशरण, गढवा, राप्ती र राजपुर गाउँपालिकाबाट १ महिलासहित २÷२ जना गरी जम्मा २७ जना सदस्य निर्वाचित हुनेछन् ।


शुक्रबार बिहान फाराम वितरण र १ः३० बजेसम्म मनोनयन दर्ता हुने निर्वाचन कार्यक्रम छ । त्यस्तै, ११ मंसिर बिहान ९ बजे मतदान कार्यक्रम रहेको कार्यवाहक निर्वाचन प्रमुख बस्नेतले बताए । ‘हामीले निर्वाचनको मिति तय गरेका छौँ, सहमतिअनुसार समय तलमाथि हुन सक्छ’, बस्नेतले भने । जिल्ला नेतृत्व चयनका लागि ३ वटा क्षेत्रबाट २१ सय ९२ क्षेत्रीय प्रतिनिधिले प्रत्यक्ष मतदान गर्नेछन् ।

 

सभापतिका आकांक्षी ५ जना

जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा जिल्ला सभापतिको प्रत्यासीका रूपमा ५ जना आकांक्षी देखिएका छन् । संस्थापन र इतर भनेर नखुलाइए पनि सभापतिका लागि पूर्वजिल्ला सभापति तथा पूर्वसांसद गेहेन्द्र गिरी, वर्तमान जिल्ला कार्यसमिति सचिव शंकरप्रसाद डाँगी, यसअघिको महाधिवेशनमा जिल्ला सभापतिका उम्मेदवार बनिसकेका कमलकिशोर घिमिरे, देउखुरीलाई कार्यक्षेत्र बनाएका नेता जानकीलाल बस्नेत तथा निर्वाचन क्षेत्र २ का निवर्तमान क्षेत्रीय सभापति भूपबहादुर डाँगीले सभापतिमा उम्मेदवारी दिने चर्चा कांग्रेसवृत्तमा चलिरहेको छ ।


यद्यपि सकेसम्म २ मात्र उम्मेदवार बनाउन भिन्न–भिन्न खेमाका नेताहरू बिहीबार साँझसम्म पनि प्रयासरत रहे । संस्थापन र इतर पक्षबाट को–को उम्मेदवार बन्ने भन्ने अझै आधिकारिक निर्णय नेताहरूले गरेका छैनन् । खुमबहादुर खड्का लिगेसी प्यानलबाट पूर्वसभापति, तुलसीपुर नगरका पूर्वसभापति एवं तुलसीपुर उपमहानगरका नगर प्रमुखका प्रत्यासीसमेत रहेका गेहेन्द्र गिरीले उम्मेदवारी दिने बताएका छन् ।


वर्तमान जिल्ला कार्यसमितिका सचिव शंकर डाँगी युवा पंक्तिम लोकप्रिय नेता मानिन्छन् । क्षेत्रीय अधिवेशनमा लोकप्रिय मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित डाँगी युवा रोजाइका उम्मेदवारका रूपमा चिनिन्छन् । कमलकिशोर घिमिरेले २६ वर्षमै रामपुर गाउँ इकाइ सभापति भइसकेका हुन् भने ३२ वर्षमा क्षेत्रीय सभापति, बाह्रौँ महाधिवेशनमा जिल्ला कार्यसमिति सचिव र तेह्रौँ महाधिवेशनमा जिल्ला कार्यसमितिको सभापतिका रूपमा प्रत्यासी बनेका हुन् ।


उनले झिनो मतले सभापति कीर्तिबहादुर खड्कासँग हार बेहोरेका थिए । कांग्रेस दाङको जिल्ला सभापतिको दौडमा क्षेत्र २ का निवर्तमान क्षेत्रीय सभापति भुपबहादुर डाँगीले उम्मेदवारी घोषणा गरेका छन् । पार्टी पंक्तिमा जुझारु नेताका रूपमा चिनिने डाँगी कार्यकर्तामाझ लोकप्रिय मानिन्छन् । डाँगीले २ कार्यकाल क्षेत्रीय सभापतिको नेतृत्व हाँकिसकेका छन् । उनी १४औँ महाधिवेशनमा कांग्रेस महाधिवेशन प्रतिनिधिमा समेत विजयी भइसकेका छन् ।