close

एमाले महाधिवेशन : प्रधानमन्त्री देउवासहित विभिन्न दलका नेताको शुभकामना

एमाले महाधिवेशन : प्रधानमन्त्री देउवासहित विभिन्न दलका नेताको शुभकामना

Trulli
ADVERTISEMENT

काठमाडौं–चितवनको नारायणी नदी किनारमा शुक्रबारदेखि सुरु भएको एमालेको दसौँ महाधिवेशनमा प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक पार्टीका नेताहरूले महाधिवेशन सफलताको शुभकामना दिएका छन् ।

 

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले महत्त्वपूर्ण २ कामका लागि मुलुकले केपी ओली र एमालेलाई स्मरण गरिरहने बताए ।

 

सीके राउतको पृथकतवादी आन्दोलन र विप्लवको सशस्त्र आन्दोलनलाई शान्तिपूर्ण अवतरण गराउनु ओली र एमालेको पहिलो सफलता भएको सुनाए ।

 

लिम्पियाधुरासहितको चुच्चे नक्सालाई संविधानको अंग बनाउने काम अर्को महत्त्वपूर्ण र स्मरणीय योगदान भएको थापाको भनाइ छ । उनले २०६३ को राजनीतिक परिवर्तनबारे एमालेले समीक्षा गर्नुपर्ने सुझाव दिए ।

 

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनसँग जोडिएका माग पूरा गराउन अधिकतम प्रयास गरेकामा अध्यक्ष ओलीलाई धन्यवाद दिए । उनले मधेस आन्दोलनका बेला भएका सम्झौता कार्यान्वयनका लागि गरेको प्रयासका लागि ओलीलाई धन्यवाद दिएका हुन् ।

 

‘ओलीजीको पालोमा हाम्रा केही साथीहरू रिहा हुनुभयो । हाम्रो माग पूरा गर्न गरेको प्रयासका लागि धन्यवाद । अब देउवाजी प्रधानमन्त्री हुनुभएको छ । बाँकी माग पूरा गराउन म उहाँलाई आग्रह गर्न चाहन्छु’, ठाकुरले भने ।

 

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेले देश र जनताको पक्षमा आफूलाई उभ्याउनुपर्ने बताए । यादवले संविधानलाई अझ समावेशी र संघीयतालाई अझ प्रभावी बनाउन सबै राजनीतिक दलले योगदान गर्नुपर्ने धारणा व्यक्त गरे ।

 

‘संविधानलाई अझ परिस्कृत बनाएर हामीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बढी मजबुत बनाउन आवश्यक छ । त्यसका लागि एमालेको महाधिवेशन देश र जनताको पक्षमा उभियोस्’, यादवले भने ।

 

महाधिवेशनमा नेकपा माओवादी केन्द्रका नेता लीलामणि पौडेलले कम्युनिस्ट एकताको आवश्यकताले आज विभक्त मन पुनः एकताबद्ध हुने विश्वास व्यक्त गरे । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिनिधिका रूपमा एमालेको दसौँ महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै पोखरेलले कम्युनिस्ट आन्दोलन पुनः एकताको दिशामा जानुपर्ने बताए ।

 

‘हाम्रा आग्रह र संकीर्णताले आज जितेजस्तो देखिए पनि, आज हाम्रो आन्दोलन अल्मलिएजस्तो देखिएपनि आज विभक्त मनहरू पक्कै भोलि फर्कनेछन् । एकता, संघर्ष र सहकार्य संस्कृतिको साझा प्रयास जारी राख्नुपर्छ’, पोखरेलले भने ।

 

यस्तै, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरू मिलेर हासिल गरेको उपलब्धि रक्षा गर्ने कि गुमाउने भन्ने परीक्षाको घडी आएको बताए । देश र जनताका लागि दलहरू एक ढिक्का हुनुको विकल्प नरहेको उनको भनाइ छ ।

 

केसीले सबै दलहरू मिलेर गणतन्त्रलगायतका परिवर्तन ल्याए पनि अहिलेको दुरवस्थाका लागि एकअर्कालाई दोषारोपण गरिरहेको गुनासो गरे । उनले भने, ‘हामी अहिलेको दुरवस्थाका लागि आफैं जिम्मेवार हौँ भन्न सक्नुपर्छ । यदि हामीले देशको राष्ट्रियता र अखण्डतालाई अगाडि राखेर राजनीति गरेनौँ भने बाह्य शक्तिले घोक्रेठ्याक लगाउनेछन् ।’

 

महाधिवेशनलाई शुभकामना दिँदै कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अधयक्ष ओली र आफू जेलदेखिका साथी भएको बताए ।

 

प्रधानमन्त्री देउवाले लोकतन्त्र स्थापनाका लागि ओलीसहित धेरै वामपन्थी नेताहरूसँगै आफू पनि जेल बसेको स्मरण गरे ।
‘केपी ओलीजीलगायत धेरै वामपन्थी साथीहरू र हामी सँगै जेलमा थियौँ । हामी जेलमेट पनि हौँ । हामीले सँगै दुःख भोगेका हौँ । हिजोका दिनमा हामीले भोगेका दुःख सम्झेर भोलिका दिनमा कुनै नेपालीले दुःख नपाउन् भन्नेमा हामी केन्द्रित हुनुपर्छ’, देउवाले भने ।

 

नेपालका राजनीतिक दलहरूले मिलेरै संविधानसभाबाट संविधान जारी गरेको स्मरण गराउँदै देउवाले राजनीतिक असहमतिको समाधान संविधानप्रदत्त विधिबाट खोजिनुपर्नेमा जोड दिए ।

 

‘हाम्रा असहमतिलाई संविधानले निर्धारण गरेका विधिबाटै टुंग्याउनुपर्दछ । त्यसलाई हामी सबैले स्वीकार्नुपर्दछ’, देउवाले
भने । उनले कांग्रेस एमालेमा वैचारिक भिन्नता भएकैले अलग–अलग पार्टी रहेको भन्दै जनताका सवाल, राष्ट्रियता र राष्ट्र हितका विषयमा भने सहमति र सहकार्य हुनुपर्ने बताए ।