close

घरमा सूचना टाँसेर उम्मेदवार हुनुको कारणको उत्तर खोज्दै कांग्रेस वडा सभापति

घरमा सूचना टाँसेर उम्मेदवार हुनुको कारणको उत्तर खोज्दै कांग्रेस वडा सभापति

Trulli
ADVERTISEMENT

झापा– ‘तपाईंहरुलाई मैले भोट किन हाल्ने ? दुई वटा कारण छेउको डायरीमा लेखिदिनु होला ।’ नेपाली कांग्रेस मेचीनगर–९ का वडा सभापति उद्धव बानियाँले यी नै हरफ लेखेर आफ्नो घरको भित्तामा टाँसेका छन् ।

 

उनले अरु इतर दलका नेतालाई नभएर आफ्नै पार्टीको १४औँ राष्ट्रिय महाधिवेशनमा जिल्ला, क्षेत्र तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेर भोट माग्दै कार्यकर्ताको घरदैलोमा पुग्ने नेताहरुलाई भनेका हुन् । 


    
उनले बिहीदेखि सूचना मात्र टाँसेका मात्र छैनन्, भोट माग्न आउने नेतालाई जित्ने आधारसहित आफ्ना सङ्कल्प लेखिदिनु भनेर डायरी र कलमसमेत राखिदिएका छन् । आफ्नो घरमा आउने नेता तथा उम्मेदवारलाई सधैँ स्वागत गर्ने भन्दै उनले पार्टीको विभिन्न पदमा उम्मेदवारी घोषणा गर्नेबाट उत्तर खोज्ने प्रयास गरेको बताए  । 

 

उनी भन्छन्, ‘उम्मेदवारी घोषणा गर्नुमात्रै ठूलो कुरा होइन, उम्मेदवारले सङ्कल्प गर्नैपर्छ पार्टी र सङ्गठनलाई यस्तो बनाउँछु भनेर ।’ उनले पार्टी र जनताको काममा आफू सधैँ निरन्तर खटिरहेको र आफूले पनि त्यस्तै नेताहरु नेतृत्वमा हेर्न चाहेको बताए । 

 

उनले वर्षौंदेखि पार्टीमा योगदान पुर्‍याएका मान्छेहरुको अवमूल्यन हुने, पार्टी र सङ्गठन नै नबुझेका नयाँ सदस्य हावी हुने अवस्था सिर्जना हुन नदिन यो अभियान सुरु गरेको बताए । वडा सभापति बानियाँले भोट माग्न आउने तर डायरीमा उम्मेदवार बन्नुका कारण नखुलाउने नेताहरुलाई आफूले भोट नहाल्ने बताए ।