close

नेपाललाई संवैधानिक राजतन्त्र र हिन्दु राज्य बनाएरै छाड्छौँ : पूर्वमन्त्री बस्नेत

नेपाललाई संवैधानिक राजतन्त्र र हिन्दु राज्य बनाएरै छाड्छौँ : पूर्वमन्त्री बस्नेत

Trulli
ADVERTISEMENT

उदयपुर– राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री हरिबहादुर बस्नेतले संवैधानिक राजतन्त्र र हिन्दु राज्य बनाएरै छाड्ने दाबी गरेका छन् । कुल जनसंख्यामध्ये झन्डै ८० प्रतिशत हिन्दु धर्मप्रति आस्था राख्ने नागरिक भएको नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने उनले बताए ।

 

गृहजिल्ला आएका पूर्वमन्त्री बस्नेतले भने, ‘लोकतन्त्रमा हाम्रा एजेन्डा लिएर जनतामाझ जान पाउनुपर्छ । राप्रपाको मूल एजेन्डा भनेकै संवैधानिक राजतन्त्र र हिन्दु राज्य हो । यही एजेन्डा लिएर जनतामाझ जान्छौँ ।’ राप्रपाले दुई तिहाइ मत ल्याए नेपाललाई संवैधानिक राजतन्त्र र हिन्दु राज्य घोषणा गर्ने उनको दाबी छ । 


बस्नेतले नेपाललाई धर्म निरपेक्ष मुलुक बनाउने र राजतन्त्र हटाउने काम नेपालीले नभएर विदेशीले गरेको बताए । अहिले शासन गर्ने राजा नभएर संरक्षक वा आस्थाको रूपमा राखिने राजा राप्रपाले चाहेको बस्नेतको धारणा छ ।

 

अरू पार्टीमा देखिएको सर्वसम्मत नेतृत्व चयन प्रक्रियालाई व्यंग्य गर्दै उनले सबैभन्दा प्रजातान्त्रिक पार्टीको रूपमा राप्रपा देखिएको दाबी गरे । बस्नेत आगामी संघीय निर्वाचनमा उदयपुरको १ नम्बर क्षेत्रबाट राप्रपाको तर्फबाट उम्मेदवारी दिने तयारीमा छन् ।

 

राजनीतिमा एक दलले अर्को दलको नीतिगत तथा सैद्धान्तिक अस्तित्व स्वीकार गर्न नसक्दा वैचारिक टकराव उत्पन्न भएको बस्नेतले बताए । आउँदो चुनावमा पार्टीले अन्य दलसँग गठबन्धनको निर्णय गरे त्यसलाई मानेर अगाडि बढ्ने उनको भनाइ छ ।

 

परराष्ट्रमन्त्री खड्कालाई कालो झन्डा 


परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई उदयपुरमा कालो झन्डा देखाइएको छ । गृहजिल्ला आएका परराष्ट्रमन्त्री खड्कालाई एमाले निकट अनेरास्ववियुका विद्यार्थीले कालो झन्डा देखाएका हुन् ।

 

गाईघाट बजारबाट राजावासतर्फ गाडीमा जाँदै गरेका परराष्ट्रमन्त्री खड्कालाई मदन भण्डारी लोकमार्गको त्रियुगा हस्पिटलअघि कालो झन्डा देखाइएको हो ।  कालो झन्डा देखाउने अनेरास्ववियुका भुवन दाहाल, मनोज तामाङसहित तीन विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

परराष्ट्रमन्त्री डा. खड्का त्रियुगा नगरपालिका वडा नम्बर ८ स्थित अम्बेरसिंह जनता माध्यमिक विद्यालय राजावासका बालबालिकालाई न्याना कपडा र त्रियुगा नगरपालिका वडा नम्बर ९ स्थित सरस्वती गाउँमा ७२ घरपरिवारमा जडान गरिएको विद्युत् उदघाटन गर्न आउने क्रममा कालो झन्डा देखाइएको हो ।