close

भागेश्वर गाउँपालिकाकाे प्राविधिक कर्मचारी छनोटमा अनियमितता

भागेश्वर गाउँपालिकाकाे प्राविधिक कर्मचारी छनोटमा अनियमितता

Trulli
ADVERTISEMENT

डडेल्धुरा - भागेश्वर गाउँपालिकाले करारमा प्राविधिक कर्मचारी भर्ना गर्दा अनियमितता गरेको आरोप लागेको छ । प्राविधिक कर्मचारी छनोटमा परीक्षा सञ्चालन गर्दा आर्थिक चलखेल गरेर नतिजा प्रकाशन गरिएको परीक्षामा सहभागीहरूले आरोप लगाएका हुन् ।

 

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत सिभिल ओभरसियरमा एक जनाका साथै गाउँपालिकाका लागि आवश्यक कृषितर्फ चार जना, भेटेरिनरीतर्फ दुई जना र सूचना प्रविधितर्फ एक जना प्रावधिक पदमा गाउँपालिकाले विज्ञापन आह्वान गरेको थियो ।

 

आवेदकहरूले रीतपूर्वक आवेदन लोकसेवा आयोगको ढाँचामा भरेको र गाउँपालिकाले सबै प्राविधिक पदका लागि लोकसेवा आयोगको पाठ्यक्रमअनुसार परीक्षा लिने बताए पनि मिलोमतोमा परीक्षा सञ्चालन गरेर पक्षपातपूर्ण ढंगले अनियमित रूपमा कर्मचारी भर्ना गरिएको स्थानीयको गुनासो छ । 

 

परीक्षा सञ्चालन पक्षपातपूर्ण र अमर्यादित भएको भन्दै परीक्षामा सहभागी आवेदकहरूले तत्काल परीक्षा रद्द गरेर नियमानुसार पुनः परीक्षा सञ्चालन गर्न माग गरेका छन् ।

 

परीक्षामा सहभागी लोकबहादुर ठकुराठी, महेश रावत, प्रमोद मल्ललगायत आवदेकहरुले एक विज्ञप्ति जारी गर्दै परीक्षा सञ्चालन गर्दा विषयविज्ञ नराखेको र कुनै पनि उम्मेदवार लिखित परीक्षामा उत्तीर्ण नभएकाले पुनः परीक्षा सञ्चालन हुने भनेर गाउँपालिका अध्यक्ष कौशिलाकुमारी भट्टले बताए पनि भोलिपल्ट सिधै नतिजा सार्वजनिक गरेको विज्ञप्तिमा जनाइएको छ । 

 

भागेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हर्ष रोक्काले कम्युटरसम्बन्धी प्रश्न बढी भएकाले सूचना प्रविधि अधिकृतलाई विषयविज्ञका रूपमा राखेर परीक्षा सञ्चालन गरिएको दाबी गरे । उनले परीक्षामा अनुत्तीर्ण भएकाहरूले अनावश्यक बखेडा गरिरहेको बताए । पुनः परीक्षा सञ्चालन नगरिएमा कडा आन्दोलनमा उत्रिने परीक्षामा सहभागी आवेदकहरूले चेतावनी दिएका छन् । 

 

परीक्षा सम्पन्न भएको चार दिनपछि मात्र सिभिल ओभरसियर पदको नतिजा सार्वजनिक गरिएको र विषयविज्ञ नराखेर परीक्षा लिइएको परीक्षामा सहभागी ठकुराठीले बताए । गाउँपालिकाले भने निष्पक्ष रूपमा परीक्षा भएको दाबी गरेको छ ।