close

दार्चुलाका स्थानीय तहमा पूर्वाधारकाे डर, न जग्गा न घर

भाडाका भवन र वडा सचिवविनै काम चलाउनुपर्ने बाध्यता

दार्चुलाका स्थानीय तहमा पूर्वाधारकाे डर, न जग्गा न घर

भाडाका भवन र वडा सचिवविनै काम चलाउनुपर्ने बाध्यता

Trulli
ADVERTISEMENT

दार्चुला - दार्चुलाका २ नगरपालिका र ७ गाउँपालिकामध्ये अधिकांश भाडाका घर र वडा सचिवविनै चलिरहेका छन् । २ नगरपालिका र ५ गाउँपालिका भाडाकै भवनमा बसेका छन् । स्थानीय सरकार गठन भएको तीन वर्षसम्म पनि स्थानीय तहले आफ्नै भवन बनाउन सकेका छैनन् ।


आफ्नै कार्यालय भवन नहुँदा स्थानीय तहको कामकाजमा समस्या हुँदै आएको छ । जिल्लाको अपी हिमाल, व्यास, दुहुँ, मालिकार्जुन र लेकम गाउँपालिका, महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकाका आफ्ना भवन छैनन् ।


अहिले अपिहिमालले भवन निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ । अपिहिमाल गाउँपालिका अहिले खण्डेश्वरी माध्यमिक विद्यालयको भवनमा बसेको छ । 


हिउँदे अधिवेशनबाट आफ्नै भवनमा बसेर सेवा दिने तयारी भएको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिए । ‘अहिले गाउँपालिकाको २२ रोपनी जमिनमा भवन निर्माण चलिरहेको छ । गाउँपालिकाका लागि १४ कोठे २ भवन निर्माणाधीन छन्’, अध्यक्ष मन्यालले भने ।


चालू आर्थिक वर्षमा गाउँपालिकाले आफ्नै बजेटबाट भवन निर्माण सुरु गरेको हो । भवन निर्माणका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । 


यस्तै, लेकम गाउँपालिकाले पनि खरकडामा रहेका विद्यालयमा कार्यालय सञ्चालन गरेको छ । यो वर्षबाट एक सामुदायिक भवन थपेर कामकाज अगाडि बढाएको गाउँपालिका उपाध्यक्ष माधवी जोशीले जानकारी दिइन् ।


‘अहिले कार्यालयका लागि १७/१८ कोठा भाडामा लिएर काम चलाइरहेका छौं’, जोशीले भनिन्  । गाउँपालिका उपाध्यक्ष जोशीका अनुसार नयाँ भवन निर्माणका लागि जग्गा खोजी भइरहेको छ


यस्तै, व्यास गाउँपालिका पनि अहिले भाडाको भरमा सञ्चालनमा रहेको छ । २ घर भाडामा लिएर कार्यालय सञ्चालन गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेखरचन्द्र ओझाले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले यो वर्षबाट आफ्नै भवन निर्माण गरिरहेको छ । गाउँपालिकाले ठेक्का सम्झौतामार्फत भवन निर्माण भइरहेको हो । 


संघीय सरकारको ५ करोड तथा गाउँपालिकाको ५ करोड गरी जम्मा १० करोड लगानीमा आप्mनै भवन निर्माण भइरहेको ओझाको भनाइ छ । दुहुँले पनि अहिले स्थानीयका ३ घर भाडामा लिएर कार्यालय सञ्चालनमा  ल्याएको गाउँपालिका उपाध्यक्ष ईश्वरी जोशीले जानकारी दिए ।


गाउँपालिकाको आफनै भवन निर्माणका लागि अहिले ठेक्का सम्झौता भइसकेको भन्दै उनले केही दिनमै भवन निर्माणको काम अघि बढ्ने बताए । 


भवन निर्माणका लागि संघीय सरकारबाट आर्थिक वर्षमा ५ करोड तथा गाउँपालिकाले चालू आर्थिक वर्षमा १ करोड गरी ६ करोड लागतमा भवन निर्माण प्रक्रिया अगाडि बढाएको गाउँपालिकाले जनाएको छ ।


मालिकार्जुन गाउँपालिकाको पनि आफ्नै भवन नहुँदा समस्या भोगिरहेको छ । अहिले भाडाको भवनमा कार्यालय सञ्चालन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकराज ओझाले जानकारी दिए ।


‘हामीले जग्गादाता पाएका छौं तर कोरोना महामारीले गर्दा उनीहरूसँग छलफल गर्न सकिएको छैन’, उनले भने, ‘जग्गाको टुंगो लागेपछि भवन निर्माण अघि बढ्छ ।’ गाउँपालिकाले अहिले स्थानीयको १० कोठे घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको छ ।


सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाले कर्मचारी आवासगृहको भवनलाई पाँच वर्षका लागि भाडामा लिएर काम चलाइरहेको छ । साविकको अपी नगरपालिका तथा गाविस भवनमा ठाउँ अभाव भएपछि सो भवन भाडामा लिइएको नगरपालिकाका प्रवक्ता पुष्करराज जोशीले बताए ।


शैल्यशिखर नगरपालिकाको पनि साविकको गाविस भवन तथा केही विषयगत कार्यालय सञ्चालन गर्न भाडामा भवन लिएको छ । हालसम्म जिल्लाको मार्मा र नौगाड गाउँपालिकाले मात्रै आफ्नै भवन निर्माण गरेर कार्यालय सञ्चालन गरिरहेका छन् । 

 

१९ वडा सचिवविहीन


दार्चुलाका ९ स्थानीय तहका ६१ मध्ये ६ स्थानीय तहका १९ वडामा सचिव छैनन् । जनप्रतिनिधि आएको तीन वर्षसम्म पनि कर्मचारी पठाउन नसक्दा वडाका कामकाज प्रभावित भएका छन् । वडामा सचिव नभएपछि अहिले साविकका गाविस प्राविधिकहरूलाई सचिवको जिम्मेवारी दिएर काम भइरहेको छ ।


दरबन्दीका सचिव नहुँदा कुनै सचिवले २ वडा र प्राविधिकहरूले  पनि दोहोरो जिम्मेवारीमा काम गर्नु परेको छ । सदरमुकाम खलंगासँग जोडिएको महाकाली नगरपालिकाको वडा–१ र वडा– ७ मा वडासचिव छैनन् । शैल्यशखिर नगरपालिकाको ७ वडा सचिवविहीन छ ।


नगरपालिकाको वडा–१, २ ,४, ५, ६, ८, र ९ वडामा सचिवको दरबन्दी रिक्त रहेको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले जानकारी दिए  । हाल नगरपालिकाको वडा–३ र ७ मा मात्रै वडा सचिव रहेको उनले बताए । 


यस्तै, जिल्लाको लेकम गाउँपालिकाको वडा–१ सचिवविहीन छ । गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीका अनुसार वडा–२ मा वडासचिव छैनन् । नौगाड गाउँपालिकाको वडा–४ सचिवविहीन छ । वडासचिव नहुँदा अहिले कामकाजमा समस्या भएको गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताए ।


अपिहिमाल गाउँपालिकाका २  वडा सचिवविहीन छन् । गाउँपालिकाको वडा–१ र वडा–५ सचिवविहीन रहेको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिए ।

 

मालिकार्जुन गाउँपालिकाका ५  वडा सचिवविहीन छन् । गाउँपालिकाको वडा–१, २, ४, ५, ६ मा सचिव नभएको गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले बताए । सचिव नभएका वडाहरूमा अहिले प्राविधिकहरूले काम गरिरहेका छन् । दार्चुलाको मार्मा, दुहुँ र व्यास गाउँपालिकामा सचिवको दरबन्दी पूर्ति भएको  छ ।


वडासचिव नहुँदा स्थानीय तहको केन्द्रसम्म पुग्न बाध्य छन् । स्थानीय तहमा दरबन्दीअनुसार कर्मचारी नभएका कारण कार्य सम्पादनमा समस्या हुने गरेको जनप्रतिनिधिहरू बताउँछन् ।