close

बर्दघाटको नगरपालिकाको आफ्नै लोगो

बर्दघाटको नगरपालिकाको आफ्नै लोगो

Trulli
ADVERTISEMENT

नवलपरासी– सुस्ता पश्चिमको बर्दघाट नगरपालिकाले नगरको पहिचान झल्कने आफ्नै लोगो निर्माण गरी प्रयोगमा ल्याएको छ । बर्दघाट आफ्नै पहिचान झल्कने लोगो बनाएर कार्यान्वयनमा ल्याउने जिल्लामै पहिलो नगर बनेको छ ।

नगरले गत वर्षदेखि नेपाल सरकारको निशान छापसँगै आफ्नै छुट्टै भौगोलिक पहिचान झल्कने लोगो बनाएर प्रयोगमा ल्याएको हो । बर्दघाटन स्थानीय डिजाइनर सुशील सौरभले उक्त लोगो बनाएका हुन् ।

लोगोको सिरानमा नगरकै सबैभन्दा अग्लो तथा ऐतिहासिक एंव पर्यटकीय स्थल संसारकोट र संसारकोट माईको मन्दिर, प्राकृतिक सम्पदा चुरे वन क्षेत्र, राष्ट्रिय झन्डा, नगरको भौगोलिक नक्सा र बुद्धमंगल तालमा पाइने कमलको फूल समावेश गरिएका छन् ।

लोगोमा नगरको समथर भूमि र त्यहाँ उब्जाउ हुने उत्पादनको पहिचानसमेत झल्किएको छ । ‘बर्दघाट नगर यस प्रदेशको प्रवेशद्वार पनि हो । यो प्रदेश बुद्धजन्म भूमि हो’, नगरप्रमुख धीरज शर्मा बस्यालले भने, ‘त्यसको पहिचान झल्काउन शान्तिको स्वरुप पहेंलो बुद्ध पृष्ठभूमिको रंग प्रयोगमा ल्याएका हौं ।’

समृद्धिका आधार कृषि, पर्यटन भएकाले नगरको भौगोलिकताका विविध पक्ष समेटेर लोगो बनाइएको उनको तर्क । ‘लोगोमा अंकित चुरे क्षेत्रभित्रको संसारकोट ऐतिहासिक पाल्पा राज्यसँग सम्बन्धित क्षेत्र हो भने बुद्धमंगल ताललाई बौद्धकालीन मानिन्छ,’ नगरप्रमुख बस्यालले भने ।