close

अव्यवस्थित बसोबासीको लगत संकलन गर्न मुसीकोटमा खुल्यो लगत संकलन इकाइ 

अव्यवस्थित बसोबासीको लगत संकलन गर्न मुसीकोटमा खुल्यो लगत संकलन इकाइ 

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम- भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गर्न मुसीकोट नगरपालिकामा लगत संकलन इकाइ कार्यालय स्थापना भएको छ ।

 

भूमिसम्बन्धी समस्या आयोगले पहिलो चरणमा रुकुम पश्चिमका मुसीकोटसहित ३ स्थानीय तहमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गर्दै छ । यसका लागि मुसीकोटमा लगत संकलन इकाई स्थापना गरिएको हो । 


इकाइको सोमबार आयोगका सदस्य बुद्धिप्रसाद शर्माले उद्घाटन गरे । संकलन इकाइमार्फत नगरपालिकाभित्र रहेका भूमिहीन दलित, सकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन गरिनेछ । 


नगरका १४ वटै वडामा पुगेर इकाइले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन गर्ने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय नरवीर खड्काले बताए । नगरपालिकाले कार्यक्रम अधिकृत कुँवेर केसीको संयोजकत्वमा ७ जनाको टोली इकाइमा खटाएको उनले जानकारी दिए । 

 

‘नगरपालिकामै कार्यरत कर्मचारीलाई इकाइमा जिम्मेवारी दिइएको छ । भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थित बनाउन आयोगले लगत लगत संकलन गर्दै छ’, खड्काले भने । उनका अनुसार पहिलो चरणमा जिल्लाका ३ स्थानीय तहमा लगत संकलन गर्न लागिएको छ । 

 

चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकाले भने लगत संकलन इकाइ स्थापना गर्न बाँकी छ । गाउँकार्यपालिका बैठक बसेर यससम्बन्धी निर्णय गर्ने त्रिवेणीले जनाएको छ । त्यस्तै, चौरजहारीले यससम्बन्धी केही दिनमा व्यवस्था गर्ने बताएको छ । 


वास्तविक तथ्यांक संकलनका लागि आयोगले स्थानीय तहसँग सहकार्य गरेर लगत संकलन गर्दै छ । यसका लागि आयोगले जिल्लाका मुसीकोट र चौरजहारी नगरपालिका तथा त्रिवेणीसँग यसअघि नै सम्झौता गरिसकेको छ ।