close

जिल्ला समन्वयको अनुगमन गाउँपालिकाद्वारा अस्वीकार

जिल्ला समन्वयको अनुगमन गाउँपालिकाद्वारा अस्वीकार

Trulli
ADVERTISEMENT

ओखलढुंगा- ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले जिल्ला समन्वय समितिले गरेको अनुगमन प्रतिवेदनमाथि प्रश्न उठाएको छ । 

 

समन्वय समितिले गरेको अनुगमनमा वडा नम्बर २ को सभाहल निर्माणमा अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेपछि गाउँपालिकाले अस्वीकार गर्ने निर्णय गरेको हो ।

 

प्रतिवेदनमा ‘सभाहल निर्माणमा लागत स्टिमेटभन्दा फरक काम गरेर ८ लाख १४ हजार रुपैयाँभन्दा बढी भुक्तानी लिएको’ उल्लेख गरिएको थियो । 

 

उक्त प्रतिवेदन आधारहीन र भ्रामक रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष निशान्त शर्माले विज्ञप्ति जारी गर्दै बिनासमन्वय वास्तविकता नबुझी गरिएको टिप्पणीको खण्डन गरेका छन् ।

 

अध्यक्ष शर्माले समन्वय समितिलाई आफ्नै आँगनमा भएको अनियमितता नदेख्ने भन्दै ठेक्का प्रक्रियाबाट कानुनसम्मत भएका काममाथि प्रश्न उठाएकामा आपत्ति जनाएका छन् । 


यसअघि समन्वय समितिले विभिन्न योजनाको अनुगमन गरेको प्रतिवेदन पत्रकार सम्मेलनमा सार्वजनिक गरेको थियो । अनुगमनमा प्राविधिक र समन्वय प्रमुख जयबहादुर श्रेष्ठले ठेक्का र उपभोक्ता समिति सबैतिर भ्रष्टाचार हुने गरेको बताएका थिए ।

 

समन्वय समितिले अनुगमन गरेर सार्वजनिक गरेको प्रतिवेदनको समाचार सार्वजनिक भएपछि चिशंखुगढीको अनुगमनमाथि प्रश्न उठेको हो ।

 

अनुगमन गर्न वास्तविकता बुझ्ने र सरोकारवाला कार्यालयसँग समन्वय र सूचनासमेत नलिई तथ्यहीन प्रतिवेदन सार्वजनिक गरेको गाउँपालिकाको दाबी छ ।

 

गाउँपालिकाले जिल्ला समन्वय समिति आफैंले सम्पादन गरेका कामको कानुनी र गुणस्तर जाँच गर्न सरोकारवाला निकायलाई चुनौती दिएको छ ।