close

मालिकार्जुनमा एक सातादेखि ताला, सेवाग्राही मर्कामा

मालिकार्जुनमा एक सातादेखि ताला, सेवाग्राही मर्कामा

Trulli
ADVERTISEMENT

दार्चुला- मालिकार्जुन गाउँपालिकामा गत शुक्रबारदेखि लगाइएको ताला अझै खुलेको छैन । गाउँपालिका केन्द्र भवन सार्ने विषयमा भएको तालाबन्दीका कारण गाउँपालिकाको कामकाज ठप्प छ । शुक्रबारदेखि गाउँपालिकामा लगाइएको ताला नखुल्दा सेवाग्राही भने मारमा परेका छन् ।


२२ पुसमा बसेको गाउँ कार्यपाललिका बैठकले गाउँपालिकाको प्रशासकीय भवन प्रहरी चौकी नजिकै बनाउने निर्णय गरेको थियो । गाउँ कार्यपालिकामा रहेका १६ जनामध्ये १४ जना सदस्यले बहुमतले गाउँपालिका भवन प्रहरी चौकी भवन नजिकै बनाउने निर्णय गरेको हो । बैठकमा गाउँपालिका उपाध्यक्ष पुष्पा अवस्थी र वडा नम्बर- ४ का वडा अध्यक्ष चक्रसिंह धामीको अनुपस्थिति रहेको थियो ।


‘बैठकले सर्वसम्मतबाटै निर्णय गरेर खुला ठाउँ प्रहरी चौकी नजिकको रक्सेखाली पस्तीमा भवन बनाउने निर्णय भएको हो’, गाउँपालिका प्रवक्ता एवं वडा नम्बर- ८ का वडा अध्यक्ष प्रेम पन्तले भने । अहिले स्थानीय र व्यापारीले एक सातादेखि गाउँपालिकामा ताला लगाएका छन् । व्यापारीहरूले साविककै ठाउँ या वडा कार्यालय रहेको भुपाडी ठाउँमा भवन बनाउनुपर्ने माग गरेका छन् ।


वडा कार्यालय रहेको ठाउँ सुरक्षित छैन । गत वर्ष वडा कार्यालय नजिकै भवन भत्किँदा २ जनाको ज्यान गएको थियो । यही भएर सबैभन्दा उत्तम विकल्प भएको ठाउँमा भवन बनाउने निर्णय गरिएको वडा अध्यक्ष एवं प्रवक्ता पन्तको भनाइ छ ।


गाउँपालिका उपाध्यक्ष अवस्थी भने अहिलेकै ठाउँमा भवन बन्नुपर्ने बताउँछिन् । सर्वसाधारण र व्यापारीहरूले एक सातादेखि यही ठाउँमा भवन बन्नुपर्छ भन्दै धर्ना दिइरहेका छन् तर वार्ता गर्नसम्म जनप्रतिनिधि आएका छैनन् । रात-दिन स्थानीयले धर्ना दिँदा पनि छलफल गर्नसमेत तयार नभएको उनको भनाइ छ ।


‘स्थानीय तह घोषणा हुँदादेखि यही पस्तीमा भवन बनाउने निर्णय भएको हो भने २०७५ सालको तेस्रो गाउँसभाको निर्णयले समेत साविककै ठाउँमा प्रशासकीय भवन बनाउने निर्णय गरिएको छ’, उपाध्यक्ष अवस्थी भन्छिन्, ‘गाउँसभाले गरेको निर्णयलाई कार्यपालिका बैठकको निर्णयले काट्न मिल्दैन ।’ अहिले गाउँपालिका भवन बनाउने ठाउँका लागि पुन गाउँसभामार्फत निर्णय गराउनुपर्ने उनको माग छ ।


जनप्रतिनिधि विभाजित भएपछि स्थानीयसँग पनि छलफल हुन सकेको छैन । नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेस दुवैका समर्थकले आन्दोलन र तालाबन्दी गरेपछि भवनको विषय टुंग्याउन नसकिएको गाउँपालिकाले जनाएको छ ।


गाउँपालिका भवनमा शुक्रबारदेखि भएको तालाबन्दीका कारण स्थानीयले सिफारिस ल्याउन पनि समस्या भएको रामसिंह धामीले बताए । ‘गाउँपालिकाको कुनै काम हुन पाएको छैन । टाढाटाढाबाट नागरिक गाउँपालिका पुगे पनि तालाबन्दीका कारण रित्तो हात फर्किनुपरेको छ’, धामीले सुनाए । जनताको समस्या समाधान गर्नुको साटो तालाबन्दीले एक दिनमा हुने कामका लागि हप्तौँ कुर्नपरेको छ ।


गाउँपालिकामा भएको तालाबन्दीका कारण सेवा ठप्प भएपछि जिल्ला समन्वय समिति नेतृत्वको टोली छलफलका लागि बोलाइएको छ । जिल्ला समन्वय समिति प्रमुख करवीरबहादुर कार्की, प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, सुरक्षा निकाय प्रमुखसहितको टोलीलाई छलफलका लागि बोलाइएको प्रवक्ता पन्तले बताए ।