close

मुगुमा जनगणना कार्यालय स्थापना

मुगुमा जनगणना कार्यालय स्थापना

Trulli
ADVERTISEMENT

मुगु- मुगु सदरमुकाम गमगढी बजारमा जनगणना कार्यालय स्थापना गरिएको छ । आउँदो २०७८ मा हुने जनगणनाको तयारीका लागि मुगुमा गणना कार्यालय स्थापना गरिएको हो । 

 

राष्ट्रिय जनगणना, २०७८ का लागि सदरमुकाम गमगढीको माथिल्लो बजारमा जनगणना कार्यालय स्थापना गरिएको हो । 

 

२०७८ मा हुने १२औँ जनगणनाको तयारी अगाडि बढाउन कार्यालय स्थापना गरिएको हो । कार्यालयमा जनगणना अधिकारी र सहायक अधिकारीसहित ५ जनाको दरबन्दी रहेको जनगणना अधिकारी कृष्णप्रसाद चैलागाईंले बताए । 

 

उनका अनुसार कार्यालयले जनगणनाका लागि आवश्यक व्यवस्थापन र सञ्चालन गर्नेछ । कार्यालय स्थापनासँगै अब प्रशिक्षक तालिम, स्थानीय जनगणना अधिकृत तालिम सञ्चालन हुनेछ । यस वर्षको मेरो जनगणना, मेरो सहभागिता पनि नारा तय गरिएको छ । 

 

जनगणनामा खटाइने सुपरिवेक्षकलाई १६ देखि २२ वैशाखसम्म र गणकलाई १६ देखि २२ जेठसम्म गमगढीमा प्रशिक्षण सञ्चालन हुनेछ । 

 

जनगणनामा खटाइने ८ हजार सुपरिवेक्षक र ३९ हजार गणक भर्तीका निम्ति ११ चैतसम्म अनलाइन आवेदन खुला गरिएको छ । मुगुका लागि मात्र १८ सुपरिवेक्षक र ८० गणक मागिएको छ ।

 

सुपरिवेक्षकका लागि स्नातक र गणकका लागि १२ कक्षा उत्तीर्णले आवेदन दिन पाउनेछन् । जनगणनालाई छिटो, छरितो र विश्वसनीय गराउन वडा तहसम्मै विभिन्न समिति निर्माण गरिनेछ । 

 

त्यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना समन्वय समिति तथा जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा, उपप्रमुख र जिल्लाभित्रका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख सदस्य रहने गरी जिल्ला स्तरीय जनगणना सहजीकरण संयन्त्र रहनेछ । 

 

जिल्लाको स्थानीय तहमा स्थानीय जनगणना समन्वय समिति हुनेछ । सो समितिमा सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत वा उनले तोकेका अधिकृत कर्मचारीको संयोजकत्वमा समिति बन्नेछ । त्यस्तै, वडास्तरीय जनगणना सहजीकरण समिति रहने छ । 

 

समितिको संयोजकमा सम्बन्धित वडाका वडाध्यक्ष रहनेछन् । उक्त समितिमा वडा कार्यालयले तोकेको वडाभित्रका विद्यालयका प्रधानाध्यापक, वडाध्यक्षले तोकेको वडा सदस्य, वडाध्यक्षले तोकेको महिला वडा सदस्य र वडा सचिव रहनेछन् ।