close

ताप्लेजुङका स्थानीय तहलाई आइसोलेसन पुनः सञ्चालन ल्याउन निर्देशन 

ताप्लेजुङका स्थानीय तहलाई आइसोलेसन पुनः सञ्चालन ल्याउन निर्देशन 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले ताप्लेजुङका सबै स्थानीय तहसहित ३ विभागीय निकायलाई आइसोलेसन केन्द्र पुनः सञ्चालनमा ल्याउन निर्देशन दिएको छ ।

 

जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन संयोजकत्वको जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय लिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । 

 

ताप्लेजुङका ९ वटा स्थानीय तह, नेपाली सेनाको भीमकाली गुल्म, नेपाल प्रहरी र सशस्त्र प्रहरीको नम्बर १ गुल्म कञ्चनजंघा हेडक्वार्टरलाई आइसोलेसन केन्द्र पुनः सञ्चालनमा ल्याउन जिल्ला कोरोना नियन्त्रण समितिले आग्रह गरेको हो ।

 

गृह मन्त्रालयले जिल्लाभरका सबै स्थानीय तहसहित विभागीय निकायमा यसअघि स्थापित आइसोलेसन केन्द्र पुनः सञ्चालनमा ल्याउन देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत अनुरोध गरेको थियो ।

 

यसअघि फुङ्लिङ नगरपालिकासहित, मैवाखोला, मिक्वाखोला, मेरिङ्देन, आठराई त्रिवेणी, सिदिङ्वा, सिरिजंघा, पाथीभरा याङ्बरक र फक्ताङ्लुङ गाउँपालिकाले आइसोलेन केन्द्र सञ्चालनमा ल्याएका थिए ।

 

कोरोना प्रकोप मत्थर हुँदै गएपछि सबै स्थानीय तह र ३ वटा विभागीय निकायले आइसोलेसन केन्द्र प्रयोगमा ल्याउन छाडेका थिए । फुङ्लिङ नगरपालिकाभित्रको आइसोलेसन केन्द्र भने बाल सुधारगृहको रूपमा स्थापित भवनलाई तोकिएको छ ।

 

यसअघि नगरपालिकाको आइसोलेसन केन्द्र ताप्लेजुङ उद्योग वाणिज्य संघको भवनमा थियो । यस्तै, पिसिआर र एन्टिजेन संकलनका लागि जनस्वास्थ्य अधिकृत प्रतिमा खरेल र फुङ्लिङ नगरपालिकाका स्वास्थ्य संयोजक मञ्जु गुरुङलाई सम्पर्क व्यक्तिको रूपमा तोकिएको प्रजिअ पाण्डेले जानकारी दिए ।

 

ताप्लेजुङका प्रवेश नाका काबेली, गुफापोखरी र सुकेटार विमानस्थलमा हेल्थ डेस्क पुनः सञ्चालन गरिने भएको छ । जिल्लामा रहेका सबै एम्बुलेन्सलाई कोभिड-१९ मैत्री बनाउने र नियन्त्रणका लागि उत्तरदायी बनाउने बनाउने निर्णयसमेत गरेको प्रजिअ पाण्डेले बताए ।

 

स्वाब संकलनका लागि ५ सय थान भिटीइम भाइल जिल्लाबाट खरिद गर्ने र थप भाइल एन्टिजेन प्रदेश सरकारसँग माग गर्ने निर्णयसमेत बैठकले गरेको छ । निर्णयअनुसार लामो दूरीमा चल्ने सार्वजनिक यातायातले अब बीच बाटोबाट यात्रु ओर्सान पाउने छैनन् ।

 

सुरु गन्तव्यदेखि अन्तिमसम्म यातायात सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्ने र यात्रुको अभिलेख जिल्ला प्रवेश नाकामा राखिएका हेल्थ डेस्कमा राख्ने निर्णयसमेत जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले गरेको छ ।