close

तनहुँमा थपियो निषेधाज्ञा

तनहुँमा थपियो निषेधाज्ञा

Trulli
ADVERTISEMENT

तनहुँ– तनहुँमा पुनः निषेधाज्ञा अवधि थप गरिएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसअनुसार जिल्ला प्रशासन कार्यालय तनहुँले १६ असारसम्म निषेधाज्ञा लम्ब्याएको हो ।  

 

कोरोना संक्रमण दर नघटेको कारण निषेधाज्ञा थप्नुपरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए । निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा सञ्चालनको समय १ घन्टा घटाइएको बरालले जानकारी दिए ।

 

हाल बिहान ५ देखि १० बजेसम्म अत्यावश्यक सेवामा पर्ने व्यवसाय सञ्चालन गर्न दिइएको छ । बैंक तथा वित्तीय संस्था न्यूनतम कर्मचारी राखेर बिहान १० देखि दिउँसो २ बजेसम्म खोल्ने अनुमति प्रशासनले दिएको छ ।

 

अबको निषेधाज्ञामा प्रशासनले उत्पादनमूलक र भीडभाड नहुने व्यवसाय सञ्चालन गर्नसमेत अनुमति दिएको छ । यसका लागि बिहान ८ देखि ११ बजेसम्म समय तोकिएको छ । स्वास्थ्य र सुरक्षाको मापदण्ड पालना नगर्नेलाई कारबाही गरिने प्रशासनको निर्देशनमा उल्लेख छ ।

 

२२ वैशाखदेखि तनहुँमा निषेधाज्ञा जारी छ । ३१ वैशाखमा समय सकिएपछि पुनः दोस्रो चरणमा १५ जेठसम्म निषेधाज्ञा लम्ब्याइएको थियो । २२ जेठमा सकिएपछि मसान्तसम्म निषेधाज्ञा थप भएको थियो । त्यसपछि ७ असारसम्मलाई थपिएको थियो । उक्त अवधि नसकिँदै पुनः निषेधाज्ञा थपिएको हो ।