close

जिल्ला प्रशासनबाटै कोरोना खोप दुरुपयोग !

जिल्ला प्रशासनबाटै कोरोना खोप दुरुपयोग !

Trulli
ADVERTISEMENT

महोत्तरी– महोत्तरीको बर्दिबास नगरपालिकामा ५०–५४ वर्ष उमेर समूहको लागि आएको कोरोना खोप प्रमुख जिल्ला अधिकारीबाटै दुरुपयोग भएकामा विरोधका स्वर सुनिन थालेका छन् । लक्षित उमेर समूहका लागि आएको खोप उनीहरूले उपभोग गर्न नपाएका बेला सोमबार ६७ जना गैरउमेर समूहका नागरिकले लगाएपछि सामाजिक सञ्जालमा व्यापक विरोध आएको हो ।

 

अग्रपंक्तिमा काम गर्ने नाममा गैरउमेर समूहका नागरिकको सिफारिससहित जिल्ला प्रशासन कार्यालय महोत्तरीले स्वास्थ्य कार्यालयलाई आदेशसहितको पत्र आइतबार पठाएको थियो । सिफारिसमा उल्लेख गरिएका कतिपय एउटै घरका श्रीमान्–श्रीमती छन् भने कतिपय नेताहरूका नजिकका आफन्त ।


महोत्तरीमा अग्रपंक्तिमा काम गर्ने कतिपय सञ्चारकर्मीले अझै कोरोना खोप लगाउन पाएका छैनन् । तर, गैरउमेर समूहका नागरिकलाई सिफारिस गरी कोरोना खोपको दुरुपयोग भएकामा जनप्रतिनिधिले आपत्ति जनाएका छन् ।


पार्टी निकटका कार्यकर्तालाई खुसी बनाउन नगरभित्र राजनीति गर्नेहरूबाटै खोपको दुरुपयोग हुनु गलत भएको स्थानीय निरज अधिकारी बताउँछन् । लक्षित उमेर समूहलाई बेवास्ता गरी गैरउमेर समूहलाई प्रशासनले सिफारिस गर्नु निन्दनीय भएको उनको भनाइ छ । 


कसले सिफारिस गर्‍यो बर्दिबासबाट ?


बर्दिबास नगरभित्रका व्यापारीलाई खोप लगाए कोरोनाबाट बच्न सकिने भन्दै उद्योग वाणिज्य संघ बर्दिबासले ६७ जनालाई सिफारिस गरेको थियो । सिफारिस अत्यावश्यक भएरै गरिएको बताउँदै उद्योग वाणिज्य संघ अध्यक्ष प्रल्हाद क्षेत्रीले नगरभित्र व्यापार गरेर बस्ने ३२ सय बढीलाई थप सिफारिस गर्ने तयारी भइरहेको जानकारी दिए । क्षेत्री स्थानीय कांग्रेस नेता हुन् ।


लक्षित उमेर समूहलाई अभाव नहुने गरी १८ साउनमा १ सय ५० थप खोप मगाएर सिफारिस गरिएका व्यक्तिलाई लगाइएको नेता क्षेत्रीको भनाइ छ । ‘बर्दिबासलाई कोरोनामुक्त बनाउने अभियानमा छौँ । खोपकै लागि म संघीय स्वास्थ्य मन्त्रालयमा जाने तयारी गर्दै छु’, उनले भने ।

 

यसो भन्छन् सहायक प्रमुख जिल्ला अधिकारी

महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले उद्योग वाणिज्य संघको सिफारिसमा ६७ जनालाई सिफारिस गरेको स्वीकारे । लक्षित उमेर समूहलाई अभाव नहुने गरी थप १५० खोप पठाएर ६७ जनालाइ सिफारिस गरिएको उनले बताए ।


‘यदि लक्षित उमेर समूहलाई नपुगे मंगलबार नै निर्णय गरी बुधबार एक दिन थप कोरोना खोपको व्यवस्थापन गर्ने तयारी गर्दै छौँ’, उनले भने । सिफारिस गर्ने क्रममा कतिपय व्यावहारिक पक्षलाई पनि हेर्नुपर्ने हुँदा नकारात्मक तरिकाले टीकाटिप्पणी नगर्न पनि सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेको आग्रह छ ।