close

सिरिजंगामा ८५ प्रतिशत बेरुजु फर्स्याैट, फर्स्याैट गर्न सफल कर्मचारीलाई पालिकाको सम्मान 

सिरिजंगामा ८५ प्रतिशत बेरुजु फर्स्याैट, फर्स्याैट गर्न सफल कर्मचारीलाई पालिकाको सम्मान 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– स्थानीय सरकारहरु बेरुजुका चाङले थिचिएका सन्देशबाट आजित भएका नागरिकलाई सुखद् समाचार दिदैं ८५ प्रतिशत बेरुजु फर्स्याैट गर्न सफल कर्मचारीलाई ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले नगदसहित सम्मान गरेको छ । पालिकाले उत्कृष्ट र सृजनात्मक कार्य सम्पादन गर्ने ५ वटा टोल विकास संस्थालाई समेत पुरस्कृत गरेको छ ।


तत्कालिन गाउँँ विकास समिति हुँदैबाट पालिकामा कायम रहदैं आएको ४ करोड ६२ लाख ५० हजार रुपैंया बेरुजुलाई ६७ लाख रुपैंयामा झारेर करिब ८५ प्रतिशत बेरुजु फर्स्याैट भएपछि पालिकाले फर्स्याैटमा संलग्न कर्मचारीलाई पुरस्कृत गरेको हो । पालिकाले शुक्रवार आयोजित पालिकाको रातो किताव सार्वजनिक गर्ने कार्यक्रमसंगै बेरुजु फर्स्याैटमा संलग्न कर्मचारी र टोल विकास संस्थालाई पुरस्कृत गरेको हो । 

 

पालिका अध्यक्ष टीकाराम गुरुङका अनुसार बेरुजु फर्स्याैटमा संलग्न मध्ये प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे १ लाख २५ हजार रुपैयाँ नगदसहित सम्मानित भए । आर्थिक तथा राजश्व शाखा प्रमुख भूपेन्द्र बुढाक्षेत्री १ लाख रुपैयाँ नगदसहित सम्मानित भए । सव ईञ्जिनियर रञ्जित लङ्वा र केशर प्रसाँइ तथा कम्युटर अपरेटर उज्वल श्रेष्ठलाई उनीहरुले खाइपाइ आएको १ महिनाको तलब बराबरको रकम पुरस्कार स्वरुप प्रदान गरिएको सिरिजंगा गाउँपालिकाले जनाएको छ । 

 

यस्तै पालिकाका सूचना प्रविधि बिज्ञ मनोज उप्रेती र जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका लेखापाल शान्तिराम रेग्मी जनही १५–१५ हजार रुपैंया सहित पुरस्कृत भएका छन् । पुरस्कृत टोलीले नियमित गर्नुपर्ने,असुल उपर गर्नुपर्ने,प्रमाण कागजात पेश गर्नुपर्ने र पेश्की बेरुजु फर्स्याैटका लागि महिनौंसम्म दिनरात नभनी कार्य सम्पादन गरेका कारण पुरस्कृत गरिएको सिरिजंगा गाउँपालिकाले जनाएको छ ।


 २०७७ साल मंसिरमा सम्पन्न नियमित गाउँसभा(आठौं)ले बेरुजुु फर्स्याैटमा उल्लेख्य काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय लिएको थियो । गाउँपालिकाले उत्कृष्ट कार्य सम्पादन गर्ने ५ वटा टोल विकास संस्थालाई समेत पुरस्कृत गरेको छ ।


गाउँपालिकाले टोल विकास संस्था गठन तथा परिचालन सम्वधी ऐन २०७६ मार्फत पालिका भरी ७२ वटा टोल विकास संस्था गठन गरेको छ । सो ऐनको दफा २० मा टोल विकास संस्थाले सम्पादन गरेका क्रियाकलाप एवम् सोको प्रतिबेदनका आधारमा उत्कृष्ट र सृजनात्मक कार्य सम्पादन गर्ने तीनवटा संस्थालाई बर्षेनि पुरस्कृत गर्ने उल्लेख गरिएको छ । 

 

८ वटा वडा रहेको सिरिजङ्घा गाउँपालिकाका प्रत्येक वडामा ९ वटाका दरले ७२ वटा टोल विकास संस्था गठन भएका छन् । साविकका ८ वटा गाउँ विकास समिति मिलेर बनेको गाउँपालिकामा साविकका पुराना वडाहरुलाई नै एउटा टोल विकास संस्थाको क्षेत्र मानेर साविकका ७२ वटा वडा क्षेत्र अहिले प्रत्येक एक टोल विकास संस्थाको कार्यक्षेत्रमा समेटिएका छन् । गाउँपालिकाले १० लाख रुपैंया भन्दा तल बजेट रहेका योजनाको कार्यान्वयन नै तिनै टोल विकास विकास संस्थामार्फत कार्यान्वयनसमेत गर्दै आएको छ ।