close

६ वर्षपछि इलाका प्रशासनबाट नागरिकता वितरण थालियो

६ वर्षपछि इलाका प्रशासनबाट नागरिकता वितरण थालियो

Trulli
ADVERTISEMENT

हुम्ला- हुम्लाको दक्षिण भेगका ४ वटा गाउँपालिकाका नागरिकलाई सेवा दिने उद्देश्यले स्थापना भएको इलाका प्रशासन कार्यालय सर्केगाडले ६ वर्षपछि सेवा सुरु गरेको छ ।


सर्केगाड, चंखेली, अदानचुली र ताँजकोट गाउँपालिकाबासीलाई नागरिकतालगायत अन्य सिफारिसका लागि तीनदेखि चार दिनको पैदल हिँडेर सीमकोट पुग्नुपर्ने बाध्यता हटाउन इलाका प्रशासन कार्यालय स्थापना भएपछि नागरिकता बाँड्न थालिएको हो ।


सर्केगाड गाउँपालिकामा ३० असार २०७३ मा स्थापना भएको इलाका प्रशासन कार्यालय ६ वर्षपछि आधिकारिक रूपमा सञ्चालनमा ल्याइएको हो ।


४ वटा पालिकाका नागरिकलाई प्रशासनिक सेवा-सुविधा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले गृह मन्त्रालयको निर्णयअनुसार निजामती सेवा ऐन, २०४९ को दफा १३ बमोजिम कार्यालय प्रमुख उपस्थित नभए सम्मका लागि ६ महिनाको कामु शाखा अधिकृतको जिम्मा नायब सुुब्बा भीमबहादुर रोकायालाई दिइएकोे छ । 


नागरिकता र अन्य सिफारिस लिन ४ दिनको पैदल हिँडेर सदरमुकाम सीमकोट जानुपर्ने बाध्यता अन्त्यसँगै सर्केगाढमै नागरिकता पाउँदा खुसी लागेको चंखेली गाउँपालिका वडा नम्बर ४ की मनीषा रावलले बताइन् ।


कामु शाखा अधिकृत रोकायाले आइतबार पद सम्हालेपछि पहिलो दिन ५ जनालाई नयाँ र २ जनालाई प्रतिलिपि गरी ७ जनालाई सेवा दिइएको उनले बताए ।


स्थानीयलाई घरदैलोमै छिटोछरितो र पारदर्शी ढंगमा प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यले जिल्लाको मध्यवर्ती क्षेत्रमा इलाका प्रशासन स्थापना भएको कामु शाखा अधिकृत रोकायाले जानकारी दिए ।


नागरिकताका सबै स्रेस्ता उपलब्ध नगराइदिँदा प्रतिलिपि लिन र नयाँ बनाउन सदरमुकाम धाउनुपर्ने बाध्यता यहाँका नागरिकका लागि हटेको उनको भनाइ छ ।


अबदेखि नागरिकता, सिफारिस, राहदानीका साथै अन्य सिफारिसका लागि इलाका प्रशासन कार्यालयमा सेवा लिन सकिने उनले बताए ।