close

ताप्लेजुङमा संक्रमित २ सयभन्दा थोरै भए निषेधाज्ञा हटाइने

ताप्लेजुङमा संक्रमित २ सयभन्दा थोरै भए निषेधाज्ञा हटाइने

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कोरोनाका सक्रिय संक्रमितको संख्या २ सयमा झरे निषेधाज्ञा हटाउने जनाएको छ । 

 

संक्रमणमुक्त हुनेको संख्या बढेको भन्दै प्रशासनले सक्रिय संक्रमितको संख्या २ सय वा त्यसभन्दा थोरै भए निषेधाज्ञा हटाउने निर्णय लिएको हो । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले सक्रिय संक्रमितको संख्या २ सयभन्दा तल झरे निषेधाज्ञा हटाउने तयारी गरेको बताए । 

 

स्वास्थ्य कार्यालय ताप्लेजुङका तथ्यांक अधिकृत हेमराज कठायतका अनुसार २ हजार ३ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये २ हजार २३ जना संक्रमणमुक्त भइसकेका छन् भने ३ सय २३ जना सक्रिय संक्रमित छन् । 

 

जिप्रकाको तथ्यांकमा भने सक्रिय संक्रमितको संख्या ३ सय १९ मात्र देखिएको छ । यस आधारमा संक्रमणमुक्त हुनेको दर करिब ८७ प्रतिशत छ । 

 

प्रशासनले संक्रमणमुक्त हुनेको संख्यामा निरन्तर बढ्दै जाने अनुमान गरेको छ । ‘ताप्लेजुङवासीले स्वास्थ्य मापदण्ड र सावधानी अपनाए अब संक्रमणमुक्त हुनेको दर बढ्ने र संक्रमण दर साविकभन्दा घट्ने अवस्था छ,’ सिडिओ पाण्डेले भने, ‘तर हेलचेक्र्याँइ गर्ने प्रवृत्तिले भने अवस्था फेरि भयावह बन्न सक्छ ।’


उनले कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएकाको परीक्षण गर्न, कम्तीमा १४ दिन सुरक्षित आइसोलेसनमा बस्न र श्वासप्रश्वास लगायतका समस्या देखिए तत्काल चिकित्सकको परामर्श र निगरानीमा रहन सुझाएका छन् ।