close

चिलगाडीबाट जिल्ला बाहिरिनेलाई विमानस्थलमा परिचयपत्र अनिवार्य

चिलगाडीबाट जिल्ला बाहिरिनेलाई विमानस्थलमा परिचयपत्र अनिवार्य

Trulli
ADVERTISEMENT

हुम्ला– हुम्लाको सीमकोट विमानस्थलले हवाई मार्ग हुँदै जिल्ला बाहिरिने यात्रुलाई विवरण खुल्ने परिचयपत्र अनिवार्य गरेको छ । यसअघि परिचयपत्र नहुँदा पनि हवाई मार्गबाट जिल्लाबाहिर जान सकिन्थ्यो ।

 

विमानस्थल प्रमुख मोहन गिरीले हवाई मार्ग हुँदै जिल्ला बाहिरिँदा आफ्नो परिचय खुल्ने प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने प्रावधान थालिएको जानकारी दिए । उनका अनुसार अन्य विमानस्थलमा पनि यस्तो प्रावधान छ ।

 

हुम्लामा लामो समयदेखि हवाई उडान भर्दै आए पनि परिचय खुल्ने प्रमाणबिनै यात्रु जिल्ला बाहिरिने गरेका थिए । तर, हाल परिचय खुल्ने कुनै प्रमाण नभए जिल्ला बाहिरिन नपाइने भएको छ । विगतदेखि नै जिल्लाबाहिर जान यो नियम लागू गरिए पनि खासै प्रभावकारी बनेको थिएन ।

 

हाल उक्त नियमलाई कडाइ गर्दै जहाजमार्फत जिल्लाबाहिर जाने यात्रुलाई परिचयपत्र अनिवार्य गरिएको छ । सदरमुकाम सीमकोबाट जिल्लाबाहिर जानुपर्दा अनिवार्य परिचयपत्र आवश्यक पर्ने भएको हो । जहाजमार्फत जिल्ला बाहिरिने व्यक्तिका लागि सुरक्षा निकायले सम्पूर्ण विवरण खुल्ने परिचयपत्र अनिवार्य गरेको छ ।

 

कुनै घटना घटे सहजै जानकारी हुने हुँदा प्रत्येक व्यक्तिको परिचय खुल्ने विवरणलाई निरन्तरता दिइएको हुम्ला विमानस्थलका प्रमुख गिरीले जानकारी दिए ।जिल्लामा दिनानुदिन विभिन्न घटना घट्न थालेपछि जिल्ला बाहिरिनेको विवरण नभए समस्या आइलाग्ने भन्दै कार्यालयले सुरक्षा निकायलाई नाम इन्ट्री गर्दा पूरा विवरण लिन आदेश गरेको हो ।

 

देशका विभिन्न जिल्लामा जहाजमार्फत उडान भर्दा विमानस्थलमा अनिवार्य यात्रुको परिचय खुल्ने प्रमाण खोज्ने गरिएको छ । तर, यो नियम हुम्लामा भने खासै प्रभावकारी थिएन ।