close

लोकसेवा तयारी कक्षा चलाउँदै वालिङ

लोकसेवा तयारी कक्षा चलाउँदै वालिङ

Trulli
ADVERTISEMENT

स्याङ्जा/वालिङ– स्याङ्जाको वालिङ नगरपालिकाले लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा सुरु गरेको छ । नगरपालिकाले शैक्षिक बेरोजगार न्यूनीकरणमा जोड दिँदै स्वास्थ्य सेवातर्फ अहेब÷अनमीको एकमहिने निःशुल्क तयारी कक्षा प्रशिक्षण सुरु गरेको हो ।


‘मानव संसाधनको विकास समृद्धिको निकास : समृद्ध स्मार्ट वालिङ निर्माणको आधार, शून्य शैक्षिक बेरोजगार’ नारालाई आत्मसात गर्दै नगरपालिकाले तयारी कक्षा सञ्चालन थालेको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।


‘सरकारी सेवामा स्याङ्जाको छुट्टै पहिचान छ । त्यसलाई थप पुष्टि गर्न र पहिचानलाई जोगाइराख्न हामीले निःशुल्क तयारी कक्षा सञ्चालन गरेका हौँ’, नगरप्रमुख खाँणले भने, ‘आगामी दिनमा वालिङबासीलाई सरकारी सेवामा बढीभन्दा बढी उत्तीर्ण बनाउने लक्ष्यसहित अगाडि बढेका छौँ ।’ नगरपालिकाले लोकसेवा आयोगले हाल माग गरेको अहेब÷अनमी पदलाई लक्षित गरी तयारी कक्षा सञ्चालन गरेको हो । यसअघि गत वर्ष नगरपालिकाले निःशुल्क नायब सुब्बा र खरिदारको तयारी परीक्षाका लागि प्रशिक्षण कक्षा सञ्चालन गरेको थियो ।


‘पहिलो चरणमा नायब सुब्बा र खरिदारलाई लक्षित गरी निःशुल्क तयारी कक्षा सञ्चालन गर्‍यौँ , प्रमुख खाँणले भने, ‘त्यसको उपलब्धि राम्रो देखियो । तयारी कक्षा सञ्चालनको प्रभावकारिता राम्रो भएकाले यसपटक प्राविधिक धारतर्फको स्वास्थ्य सेवाको अहेब र अनमीका लागि तयारी कक्षा सञ्चालन सुरु गरेका हौँ ।’

 

नगरपालिकाले आगामी दिनमा बैंकिङ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनामा प्रवेश गर्न चाहनेका लागि पनि सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको प्रमुख खाँणले बताए ।


नगरभित्रका शिक्षित युवायुवतीलाई लक्षित गरिएको यो अभियानमार्फत शैक्षिक बेरोजगारी हटेर जाने नगर उपप्रमुख कल्पना तिवारीको विश्वास छ । लोकसेवाका विभिन्न परीक्षामा यहाँको जनशक्ति उत्कृष्ट भई सरकारी सेवामा प्रवेश गर्न सघाउ पुग्ने उपप्रमुख तिवारीको भनाइ छ । लोकसेवा आयोगको तयारीका लागि टाढा–टाढा जानुपर्ने बाध्यता हट्ने शिक्षा शाखा प्रमुख बाबुराम सापकोटा बताउँछन् ।


तयारी कक्षा सञ्चालनका लागि काठमाडौं, पोखरा तथा वालिङमै लामो समयसम्म अनुभव प्राप्त प्रशिक्षकमार्फत सैद्धान्तिक र प्रयोगात्मक कक्षा सञ्चालन गरिने नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए ।

 

लोकसेवा आयोगले तयार पारेको तथा सम्भावित पाठ्यक्रमका आधारमा तयारी कक्षा सञ्चालन गरिने पायोनियर एजुकेसन एकेडेमीका प्राविधिक कक्षा प्रमुख हिमनिधि पंगेनीले जानकारी दिए । तयारी कक्षा सञ्चालनका लागि प्राप्त आवेदनका आधारमा हाल ८० महिला, पुरुष प्रशिक्षार्थी सहभागी छन् ।