close

४० प्रतिशत स्थानीय तहमा छैनन्  प्रमुख प्रशासकीय अधिकृत

४० प्रतिशत स्थानीय तहमा छैनन्  प्रमुख प्रशासकीय अधिकृत

Trulli
ADVERTISEMENT

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अहिले करिब ४० प्रतिशत स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत छैनन् । त्यस्तै, अधिकांश स्थानीय तहमा दरबन्दीअनुसार कर्मचारी छैनन् । 

 

संघमा दरबन्दी हुँदाहुँदै स्थानीय तहमा पठाइएको भन्दै स्थानीय तहमा पुगेका कर्मचारीसमेत अदालतको आदेश लिएर संघमै आउन थालेका छन् । दुई वर्षअघि स्थानीय तहका लागि भनेर लोकसेवा आयोगले भर्ना गरेका नौ हजार कर्मचारी पनि यसरी नै अदालतको आदेश लिएर संघमा आउन खोजेपछि कर्मचारी व्यवस्थापनमा थप जटिलता उत्पन्न भएको मन्त्रालय बताउँछ । 

 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद मन्त्री श्रेष्ठका अनुसार अहिले झन्डै ४० प्रतिशत प्रशासकीय र ५० प्रतिशत स्थानीय तहका कर्मचारीको समस्या छ । ‘जागिर नखाउन्जेल दुर्गममा जान्छु भन्ने प्रतिबद्धता जनाउने, तर जागिर खाएको ६ महिना नबित्दै फेरि सुगम र काठमाडौं आउन खोज्ने प्रवृत्तिले अहिले स्थानीय तहमा कर्मचारी अभाव भएको छ,’ मन्त्री श्रेष्ठले भने, ‘अहिले दुर्गम र हिमाली जिल्ला सबै खाली हुने स्थिति बन्यो ।

 

यसको समाधानका लागि स्थानीय तहले आफ्नो क्षेत्रका कर्मचारी भर्नामा प्राथमिकता दिन सक्ने बनाउनुपर्छ । यसमा संविधान, संघीय कानुन वा प्रदेश कानुन बाधक छ भने संशोधन गर्नुपर्छ । यसो नगरेसम्म दुर्गममा त कोही बस्ने अवस्था नै देखिएन ।’ यो प्रवृत्तिको अन्त्यका लागि सम्बन्धित क्षेत्रबाटै स्थानीय तहमा कर्मचारी भर्नाका लागि प्राथमिकता दिने विषयमा पनि छलफल भएको मन्त्री श्रेष्ठले बताए ।

 

दोहोरो सहमतिका आधारमा सरुवा गरिदिने भनी यसअघि सरकारले गरेको निर्णयका कारण पनि स्थानीय तहमा पुगेका कर्मचारी संघमा आउने क्रम बढेको मन्त्रालयको भनाइ छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १९ महिनाअघि दोहोरो सहमति भए कर्मचारी सरुवा गर्ने निर्णय गरेको थियो । यसैमा टेकेर कर्मचारीहरू दोहोरो सहमति जुटाएर संघमा आइरहेका छन् । ‘अब प्रदेशलाई अधिकार दिएपछि तल्ला तहका कर्मचारी व्यवस्थापन प्रदेश लोकसेवा आयोगबाट हुन्छ,’ मन्त्री श्रेष्ठ भन्छन् ।