close

आज हरितालिका तीज

Trulli
ADVERTISEMENT

काठमाडौं । भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका तीज । सनातन धर्मावलम्बी महिला उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाउँदैछन् । 

बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ ।

हिमालय र मेनकाकी पुत्री पार्वतीले निराहार व्रत बसी कठिन तपस्या गरेको र महादेव पति पाएको पौराणिक सन्दर्भ छ । त्यसैले यसरी व्रत बस्दा मनोकांक्षा सिद्ध हुने विश्वास गरिन्छ।

विवाहिताले पति र छोराछोरीको सुस्वास्थ्यको कामना गर्ने र अविवाहिताले असल पतिको कामनामा व्रत बस्ने परम्परा छ ।

काठमाडौंस्थित पशुपतिनाथ, गोकर्णेश्वर, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, सिन्धुलीको कुशेश्वर, सिन्धुपाल्चोकको फटकेश्वर र दोलखाको भीमेश्वरलगायत शिवालयमा श्रद्धालुको घुइँचो लाग्छ ।

तीजका लागि माइतीले चेलिबेटीलाई निम्तो गर्ने, सम्भव भएसम्म सबै दिदीबहिनीहरू एकै थलोमा जम्मा हुने, अघिल्लो दिन बेलुकी ‘दर’ खाने गर्छन् । नाचगान गरी घरव्यवहारमा पाएका दुःखकष्ट पोखेर नाचगान गर्छन् ।

तीजका बेला सौभाग्यका सूचक राता वस्त्र तथा आभूषण लगाउने चलन छ ।

तर अचेल दर खाने नाममा एक महिनाअघिदेखि तडकभडक गर्ने, तिजको गीतमा उच्छृंखल शब्दको प्रयोग गर्ने र भड्किला पोशाक लगाउने चलन बढेको भन्दै संस्कृतिका जानकार चिन्ता व्यक्त गर्छन् ।