close

सुदूरपश्चिममा धुमधामसँग गौरा पर्व मनाइँदै

सुदूरपश्चिममा धुमधामसँग गौरा पर्व मनाइँदै

Trulli
ADVERTISEMENT

महेन्द्रनगर । सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व धुमधामका साथै मनाइँदै छ । सुदूरपश्चिमका पहाडी जिल्लादेखि तराईको कैलाली र कञ्चनपुरमा यतिबेला गौराको रौनकता छाएको छ । 

प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान शिवकी अर्धाङ्गिीनी शक्तिस्वरुपा पार्वती (गौरी)लाई गौरा देवीको रुपमा पूजा अर्चना गरिँदै आएको छ । शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा हो । डोट्याली लोकसाहित्यमा विद्यावारिधी गरिरहनुभएका महेन्द्रनगरका साहित्यकार कविराज भट्ट भाद्र शुक्ल पक्ष पञ्चमीदेखी सुरु हुने गौरा पर्व परम्परागत रिती अनुसार मनाइने गरेको बताउछन् । 

विवाहित नारीले आफ्नो परम्पराअनुसार पुरुषजस्तै यज्ञोपवित्रताका रुपमा दुबधागो लगाउने चलन यस क्षेत्रमा रहेको छ । नारीले पुरुषजस्तै यज्ञोपवित्रताका रुपमा दुबधागो लगाउने र त्यसमै लक्ष्मीको वैदिक मन्त्र जप्ने गरिएको उनले बताए । 

दुर्वाष्ठमीको दिन (आज) गौराको महत्त्वपूर्ण दिन हो । यसलाई अँठेवाली पनि भन्ने गरिन्छ । यो दिन महिलाले सगुन फागसहित गौरादेवीलाई आँगनमा लगेर राख्छन् । सबै महिला जम्मा भइ अँठेवाली गायनसँगै बिरुडाले गौराको पूजा गर्दछन् । अँठेवालीकै बिचमा प्रसङ्गअनुसार एउटा धर्मकथा प्रस्तुत गरिन्छ । यो कथा सबै महिलाले सुन्ने सुनाउने गर्दछन् ।

त्यसपछि मङ्गल गीत (सगुन, फाग)सहित तामाको ताउलीलाई गाईको गोबर, दुबो र जौँ तिलले सजाउने परम्परा छ । पाँच अन्न बिरुडा (मास, गहत, गहू, कलौं र गुरुस) तामाको भाँडोमा हाली सुगन फाग गायनसँगै गौरा भित्र्याइन्छ । बिरुडालाई देवीको प्रतीकका रुपमा मानी चन्दन, अक्षता, फूल, धुप, दीप, फललगायत चढाएर पूजा गर्ने गरिन्छ । उक्त भिगाएका बिरुडा भएको ताउलीलाई टाउकोमा राखी सगुन, फाग गायनसँगै महिलाहरुले पानीको मूहानमा लगेर सगुन गायनसँगै पाँच पल्ट धुने प्रचलन छ ।

धारामा साँवाधानको गौरादेवीको मूर्ति बनाएर स्थापना गरी बिरुडा तथा चन्दन, अक्षता, पाती, धुप, दीप, फल आदिले पूजा गरी पुनः फाग गायनसँगै घरमा भित्रयाउने चलन छ । सप्तमीको दिन चेलीबेटीले खेतबाट धान, साँवाधान, कुर्जो आदि हालेर रातो कपडा वा घुम्टीमा बेरेर गौराको मूर्ति बनाइ गौरा घरमा ल्याउँछन् । गौरालाई डालोमा राखेर शुद्ध आसनमा स्थापित गरिन्छ । एउटा काठको पिर्कोमा पहेलो कपडा बनाएर महेश्वर पनि स्थापना गरिन्छ । 

देउडा गौराको अवसरमा रमाइलोका लागि खेलिने खेल भएको उनको भनाइ छ । सप्तमी र अष्टमीलाई गौराका विशेष दिनका रुपमा लिइने गरिन्छ । गौरा पर्व मनाउन भारत तथा अन्य मुलुकमा भएका  सुदूरपश्चिमेली घर फर्किन्छन् । गौराको अवसरमा कञ्चनपुरको महेन्द्रनगरमा महाकाली साहित्य सङ्गम, खप्तड समाजलगायतले देउडा प्रतियोगिता आयोजना गरेका छन् ।