close

पालिका प्रमुखलाई मुख्यमन्त्रीको दनकः डोजरले खन्दैमा विकास हुँदैन, गाँजाले समृद्धि आउँदैन

पालिका प्रमुखलाई मुख्यमन्त्रीको दनकः डोजरले खन्दैमा विकास हुँदैन, गाँजाले समृद्धि आउँदैन

Trulli
ADVERTISEMENT

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले डोजर चलाएर सडक खनेर मात्र विकास नहुने बताएका छन् ।


मकवानपुरका १० वटै पालिकाका प्रमुखसहित सबै जनप्रतिनिधि एकै पटक भेला भएको अवसरमा मुख्यमन्त्री पौडेलले विकासको पूर्वाधार भनेको डोजरले सडक बनाउनु मात्र नभएको बुझ्न आग्रह गरेका हुन् ।


उनले सडक खनेर मात्र नभई जनताले अनुभूति गर्ने खालका पूर्वाधार तयार गर्नुपर्ने बताए । मुख्यमन्त्री पौडेलले वडा समितिमार्फत सिफारिस गरिएका योजनालाई प्रभावकारी कार्यान्वयन गर्न स्थानीय तहलाई निर्देशन पनि दिएका छन् ।


‘जनप्रतिनिधिलाई मोरो आग्रह छ । डोजरले सडक खेर मात्र विकास हुने होइन । जनताले प्रत्यक्ष लाभ लिने खालका विकास गर्नुपर्छ’, पौडेलले भने । जिल्ला समन्वय समितिको वार्षिक समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले झोलुङ्गे पुल, कृषि सडक, सिँचाइ, ग्रामीण विद्युतीकरणको पक्षमा प्रदेश सरकारले आफ्नो स्रोत, साधन परिचालन गरिरहेको बताए ।


पौडेलले राज्यका तीन तहका सरकारले एकले अर्कोलाई खुइल्याउने प्रवृत्ति अन्त्य गरिनुपर्ने पनि बताए । ‘एउटा सरकारले अर्कोलाई खुइल्याउने काम भइरहेको छ । यो कसैलाई फलदायी हुँदैन । तीनै सरकार मिलेर अघि बढे मात्र लक्ष्यमा पुगिन्छ’, उनले भने ।


तीनै तहका सरकार मिले मात्र विकास गर्न सकिने उनको धारणा छ । विकास निर्माणका योजना छनोटमा तीनै तहका सरकारको समन्वय भए मात्र सही र आवश्यक योजनाहरू छनोट हुने उनको भनाइ छ ।


पौडेलले गाँजाखेतीलाई वैधानिकता दिनुपर्ने विषय संसदमा उठान गरिरहेका जनप्रतिनिधिलाई लक्षित गरी अवैधानिक कार्यमा प्रोत्साहन गरिरहेको आरोप लगाएका छन् । ‘सरकारले अवैध ठहर गरेको गाँजा उत्पादनलाई जनप्रतिनिधि स्वयंले  प्रोत्साहन गर्नु गलत हो । सरकारमै रहेका जनप्रतिनिधिले गरिब, विपन्न किसानलाई कानुनमै अवैध उल्लेख गरेको गाँजाखेती गर्न प्रोत्साहन दिनु जायज होइन’, उनले भने ।


गाँजा उत्पादन हुने क्षेत्रमै पुगेर जनप्रतिनिधिले विपन्न किसानलाई प्रोत्साहन गरिरहेको आरोप मुख्यमन्त्री पौडेलको छ । गाँजाखेती गर्न प्रोत्साहन गर्नुभन्दा कानुन परिवर्तनमा जोड दिनुपर्ने तर्क पौडेलको छ । कानुन परिवर्तन गरेर वैधानिकता दिन सके गरिब किसान जेल जानबाट जोगिने भनाइ उनले राखे ।


मुख्यमन्त्री पौडेलले मुलुकमा संघीयता कार्यान्वयनका लागि तीनै तहका सरकारको सहकार्य अपरिहार्य रहेको जनाए । कानुनको बर्खिलाप हुने गरी कसैले काम गर्न नहुने धारणा उनको छ ।


कोरोना महामारीको समयमा संघीय र प्रदेश सरकारले निर्देशन मात्र दियो बजेट दिएन भन्ने भनाइप्रति आपत्ति जनाउँदै मुख्यमन्त्री पौडेलले जनप्रतिनिधिलाई प्रतिप्रश्न गरे, ‘अहिले पाइरहेको बजेट कसको हो ?’