close

६७ गाउँपालिकाबाट बागमती प्रहरीविरुद्ध उजुरी गर्न सकिने

६७ गाउँपालिकाबाट बागमती प्रहरीविरुद्ध उजुरी गर्न सकिने

Trulli
ADVERTISEMENT

हेटौंडा– बागमती प्रदेशका ६७ वटा गाउँपालिकामा प्रदेश प्रहरी कार्यालय, हेटौंडाले गुनासो तथा सुझाव संकलनका लागि उजुरी पेटिका राखेको छ ।

 

प्रहरी कार्यालय र प्रहरीबाट सम्पादन भएका कामकारबाहीका बारेमा नागरिकबाट प्राप्त सल्लाह, सुझाव र गुनासो सम्बोधन गर्न प्रदेश प्रहरीले सबै स्थानीय तहमा गुनासो पेटिका राखेको हो ।


कार्यालयले दोस्रो चरणको कार्यक्रमअन्तर्गत सबै गाँउपालिकाहरुमा गुनासो तथा सुझाव संकलन पेटिका राखिएको कार्यालयका सूचना समन्वय अधिकृत प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए ।


प्रदेश प्रहरी कार्यालयले यसअघि प्रथम चरणको कार्यक्रमअन्तर्गत प्रदेशका १० वटा जिल्लाका (उपत्यकाका काठमाडौं, ललितपु र भक्तपुर बाहेक) एउटा महानगरपालिका, एउटा उपमहानगरपालिका, २५ नगरपालिका र सदरमुकाममा रहेको एक गाउँपालिका गरी ३१ वटा स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटिका राखेको थियो । तेस्रो चरणमा प्रदेशका ८ सय ७४ वटा वडाहरुमा गुनासो संकलन पेटिका राखिने सूचना समन्वय अधिकृत थापाले जानकारी दिए ।


प्रथम र दोस्रो चरणमा गरी प्रदेशभरका ९८ वटा स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटिका राखिएको हो । नागरिकबाट प्राप्त हुने गुनासो तथा सुझावलाई व्यवस्थित र तत्कालै सम्बोधन गर्ने उद्देश्य अनुरुप प्रदेश प्रहरी कार्यालयले सुझाव पेटिका संचालन सम्बन्धी कार्ययोजना २०७७ तयार पारेको थियो ।


हरेक प्रहरी कार्यालयहरुमा उजुरी पेटिका  भएपनि नागरिकको सहज पुहँचमा नभएको र प्रहरी कार्यालयमै प्रहरीेविरुद्ध उजुरी गर्न सेवाग्राहीले असहज महशुस गर्ने भएकाले पालिकाहरुमा पेटिका राखिएको हो ।

 

नागरिकहरुले गर्ने गुनासो तथा सुझावलाई प्रदेश प्रहरी कार्यालयले हरेक महिनाको १ गते स्थानीय तहका प्रतिनिधि र स्थानीय प्रहरीको रोहबरमा संकलन गर्ने गरेको छ । नागरिकका गुनासा र सुझाव सम्बोधनका लागि कार्यालयमा उजुरी छानबिन शाखा समेत स्थापना गरिएको छ । कार्यालयले गुनासो तथा सुझाव सम्बोधन गरेपनि उजुरीकर्ता व्यक्ति स्वयमलाई कामकारबाहीका बारेमा जानकारी गराउने गर्दछ ।

 

प्रहरीसँग सम्बन्धित नरहेका कुनै गुनासो तथा सुझावलाई भने सम्बन्धित निकायमा कार्यान्वयनका लागि पठाइने प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रदेशका नागरिकले असोज र कार्तिकमा गरी १० वटा गुनासो तथा सुझाव हालेका थिए । उक्त १० वटा उजुरीको कार्यालयले कार्यान्वयन गरिसकेको सूचना समन्वय अधिकृत थापाले जानकारी दिए ।