close

बागलुङमा प्रदेशका २५ नयाँ खानेपानीका योजना

बागलुङमा प्रदेशका २५ नयाँ खानेपानीका योजना

Trulli
ADVERTISEMENT

बागलुङ- बागलुङमा चालू आर्थिक वर्षमा थप २५ खानेपानी आयोजना सञ्चालनमा आउने भएका छन् । गण्डकी प्रदेश सरकारले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङमार्फत योजना सञ्चालन गर्ने भएको हो । एक घर एक धारा कार्यक्रमका लागि खानेपानीको समस्या रहेका गाउँहरूमा योजना थप भएको डिभिजन कार्यालय बागलुङका प्रमुख राजेन्द्रप्रसाद न्यौपानेले बताए । 


जिल्लाभर २५ खानेपानी आयोजना थप गर्न १ करोड ९८ लाख रुपैयाँ विनियोजन भएको छ । उपभोक्ताको मागका आधारमा छनोट भएका योजनामा बजेट विनियोजन भएर काम सुरु भएको न्यौपानेले बताए । थप भएका योजनामध्ये सबैभन्दा ठूलो योजना ढोरपाटन नगरपालिका वडा नम्बर ४ खुंगामा सञ्चालन हुनेछ ।


झारेखोला, देउराली खोला, खुंगा खानेपानी योजनका लागि २५ लाख रुपैयाँ विनियोजन भएको छ । नयाँ योजना भएकाले नाप जाँचको काम सकेर मुहानदेखि धारासम्मका काम थालिने इञ्जिनियर ईश्वरी शर्माले जानकारी दिए ।


संघको खानेपानी डिभिजन कार्यालय म्याग्दी र स्थानीय सरकारले सञ्चालन गर्ने योजनाबाहेक जिल्लामा चालू आर्थिक वर्षमा ७८ वटा खानेपानीका योजना सञ्चालनमा रहनेछन् । गत आर्थिक वर्ष र त्योभन्दा पहिलेदेखि दायित्व सरेर आएका ५३ क्रमागत योजना चालू आवमा समेत सञ्चालनमा रहनेछन् । 


१२ करोड ५० लाख रुपैयाँका योजना निर्माणकै क्रममा रहेकाले चालू वर्षमा समेत सञ्चालनमा रहने न्यौपानले बताए । घर–घरमा खानेपानी पु¥याउन लामो कसरत भइरहे पनि अझै जिल्लाका दूरदराजदेखि सदरमुकाममा खानेपानीको समस्या छ । प्रदेश सरकारले ससर्तमा ४३ योजना सञ्चालन गरिरहेको छ । ७ करोड ८५ लाख रुपैयाँ खर्चेर चालू वर्षमा समेत यी योजनामा काम हुनेछ । 


‘कार्यक्षेत्रका हिसाबले पर्वत र बागलुङमा काम गर्दा कठिन छ तर हामी खटिइरहेका छौँ,’ न्यौपानेले भने, ‘गत आवमा शतप्रतिशत भौतिक र वित्तीय प्रगति भएको छ । थपिएका योजनामध्ये दुई वटा योजनामा दुई लाख रुपैयाँ मात्रै विनियोजन भएको छ । ढोरपाटन नगरपालिका वडा नम्बर १, २ र ३ मा पर्ने दुई योजनाका लागि ४ लाख रुपैयाँ बजेट बिनियोजन भएको हो । ९ वटा ५ लाखका योजना छन् । ८ लाख रुपैयाँ बजेट रहेका दुई वटा र ९ वटा १० लाख रुपैयाँ बजेटका योजना छन् । सबै योजना सूचीकृत भएर प्रारम्भीक काम थालिएको न्यौपानेले बताए ।