close

शुक्रबार मुख्यमन्त्री आचार्यले विश्वासको मतको प्रस्ताव राख्ने

शुक्रबार मुख्यमन्त्री आचार्यले विश्वासको मतको प्रस्ताव राख्ने

Trulli
ADVERTISEMENT

मोरङ — प्रदेश १ का मुख्यमन्त्री मुख्यमन्त्री भीमप्रसाद आचार्यले शुक्रबारको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव राख्ने भएका छन् । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको तेस्रो बैठक शुक्रबार दिउँसो १ बजे बोलाएका छन् । 

 

मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भए ३० दिनभित्र विश्वासको मतका लागि प्रदेशसभासमक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ । निर्वाचन आयोगले एमालेका १० प्रदेश सांसद एकीकृत समाजवादीमा गएको निर्णय भदौ २५ मै गरेको थियो । उक्त निर्णयअनुसार मुख्यमन्त्री आचार्यले असोज २३ भित्रै विश्वासको प्रस्ताव राख्नुपर्ने थियो । तर मुख्यमन्त्री आचार्यले असोज २५ मा मात्रै विश्वासको मत लिने सूचना प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीलाई दिएका थिए ।

 

एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले शुक्रबार मुख्यमन्त्रीले विश्वासको मतका लागि बैठकमा प्रस्ताव राख्ने बताए । प्रमुख प्रतिपक्षी कांग्रेसका नेता राजीव कोइरालाले मुख्यमन्त्री आचार्यले आफैंले निर्माण गरेको संविधानको उल्लंघन गरेर असंवैधानिक रूपमा मुख्यमन्त्री बनिरहनु आपत्तिजनक भएको बताए । उनले मुख्यमन्त्री आचार्यले असंवैधानिक रूपमै सरकारको आयु लम्ब्याउन खोजिरहेको आरोप लगाए । मुख्यमन्त्री आचार्यले सदनमा विश्वासको प्रस्ताव राखेपछि गठबन्धन दलका सबै सांसद मिलेर विफल बनाउने कोइरालाले बताए ।