close

प्रदेशको नाम टुंगो लागेपछि मधेश प्रदेशमा दीपप्रज्वलन, प्रदेशसभा सदस्यहरू खुसी

प्रदेशको नाम टुंगो लागेपछि मधेश प्रदेशमा दीपप्रज्वलन, प्रदेशसभा सदस्यहरू खुसी

Trulli
ADVERTISEMENT

जनकपुर– लामो समयको संवाद र बहसपछि प्रदेशको नाम र राजधानी टुङ्गो लागेपछि प्रदेशसभा सदस्यहरूले खुसियाली मनाएका छन् । प्रदेशसभामा प्रदेशको नाम र राजधानीको घोषणा गरिरहँदा बैठकमा उपस्थित प्रदेशसभा सदस्यहरूले बैठक हलमै खुसियाली मनाएका हुन् । प्रदेशसभा सदस्यहरूले बैठक हलभित्रै खुसियालीमा नाराबाजीसमेत गरेका छन् । आफूले पाएको महत्वपूर्ण जिम्मेवारी पूरा भएकामा हर्षित बनेका प्रदेशसभा सदस्यहरूले ढिलै भए पनि मधेस र मधेसी जनताको पक्षमा निर्णय आएको भन्दै एक–अर्कालाई बधाईसमेत ज्ञापन गरेका छन् ।

 

‘प्रदेशको नाम र राजधानी टुङ्गो लगाउन नसक्दा चारैतिर हाम्रो आलोचना भइरहेको थियो,’ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भने, ‘आज त्यो अभिभारा पूरा भएकामा खुसी लागेको छ, आज मधेस आन्दोलनको भावना, मधेसीको चाहनाअनुसारको उपलब्धि हासिल भएको महसुस गरेका छौँ ।’ यो दुवै प्रस्ताव पारित गर्न सहयोग गर्ने सबै प्रदेशसभा सदस्यहरूलाई उनले धन्यवादसमेत ज्ञापन गरे । 


 
खुसियालीमा दीपप्रज्वलन 

 

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम र नाम मधेस प्रदेश भएको खुसियालीमा सोमबार साँझ जनकपुरधामसहित प्रदेश २ को आठवटै जिल्लामा दीप प्रज्वलन गरिएको छ । जनता समाजवादी, माओवादी केन्द्र र लोकतान्त्रिक पार्टीका नेता कार्यकर्ताहरूको अगुवाइमा जनकपुरधामसहित मुख्य सहरहरूमा दीप प्रज्वलन गरिएको हो । चार वर्षपछि भए पनि प्रदेशको नाम र राजधानी टुङ्गो लगाएकामा खुसी भएका स्थानीयवासीले समेत घरघरमा दीपावली गरेका छन् ।