close

बर्खामा विजयपुर बौलाएर के भो त ? अब पुल छँदै छ नि !

बर्खामा विजयपुर बौलाएर के भो त ? अब पुल छँदै छ नि !

Trulli
ADVERTISEMENT

कास्की– बर्खा लागेपछि वारिको गाडी वारि र पारिको गाडी पारी हुन्थे । सानो झरी पर्नेबित्तिकै विजयपुर बौलाउँछ । भेल तर्न नसकेपछि सदरमुकामसँगको सम्पर्कविच्छेद हुने गर्‍यो ।

 

कास्कीको मादी गाउँपालिकास्थित सिक्लेस, ताङतिङ, तप्राङ, छाचोकलगायत गाउँका नागरिक जेठ लागेपछि पोखरा झर्न कहिलै पाउँदैन थिए । झन् गाडी चढेर झर्ने उक्लिने सम्भावना त हुँदै भएन ।


विजयपुर खोलामा सरकारले मोटरेबल पुल बनाइदिएपछि अब यो समस्या हटेको छ । पोखरा महानगर मादी गाउँपालिकाको सीमामा पर्ने यो खोलाको पुल भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्बाङले उद्घाटन गरे ।

 

पोखरा महानगरको वडा नम्बर १३ र मादीको वडा नम्बर ५ जोड्ने पुल ५ करोड ७५ लाख २९ हजार रुपैयाँ लागतमा बनेको हो । सडक डिभिजन कार्यालय पोखराले बनाएको पुल ५४ मिटर लामो छ । डबल स्पान सुपर स्ट्रक्चरमा बनाइएको छ । पुल बनाउन २०७५ असारमा सम्झौता भएको थियो ।


जनताको वर्षौंअघिको पुल तरेर पोखरा झर्ने सपना बल्ल पूरा भएको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ बताउँछन् । ‘कहिले मान्छे बगाउने । भेलमा गाडी हुल्यो भने गाडी नै बगाउँथ्यो’, उनले भने, ‘बर्खाभरि माथिल्ला गाउँका मान्छेको सहरसँग सम्बन्ध टुट्थ्यो । अब सीधै जोडियो ।’

 

पुल बनेपछि पर्यटकलाई पनि सहज भएको छ । २ पालिकाबीच सम्बन्ध सुमधुर बनाउन यो पुल निकै रणनीतिक महत्त्वको हुने पोखरा महानगर प्रमुख मानबहादुर जिसी बताउँछन् ।

 

पुल बनेको खुसियालीमा बाजागाजासहित भेला भएका स्थानीयमाझ मन्त्री नेम्बाङले वर्तमान सरकार बनेपछि विकासको लहर आएको दाबी गरे ।