close

एभरेष्ट भ्यूटावर बनाउँदै लिमचुङबुङ

एभरेष्ट भ्यूटावर बनाउँदै लिमचुङबुङ

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले ‘एभरेष्ट भ्युटावर’ निर्माणका लागि जग्गा अधिग्रहण सुरु गरेको छ । लिमचुङबुङ गाउँपालिका वडा नम्बर ३ को भैयोचुङ (दोबाटेडाँडा) मा प्रस्तावित भ्यूटावर निर्माण गर्न स्थानीयको जग्गा अधिग्रहण सुरु भएको हो ।

 

जमिन व्यवस्थापन हुन नसक्दा अलपत्र परेको एभरेष्ट भ्यूटावर निर्माणको योजना अब भने अघि बढ्नेछ । धेरै पटकको प्रयासबाट जमिन व्यवस्थापनको समस्या हल भएकाले अब छिट्टै भ्यूटावर बन्ने निश्चित भएको गाउँपालिकाले जनाएको छ ।


प्रस्तावित भ्यूटावरका लागि चाहिने जमिन व्यक्तिको नाममा थियो । २ वर्षयता जमिन व्यवस्थापनमा अल्झिएको गाउँपालिका व्यवस्थापनपछि भने योजना कार्यान्वयनमा जुटेको हो । जमिनको समस्या हट्नेबित्तिकै टावर बन्ने सुनिश्चित भएको गाउँपालिका अध्यक्ष मेजरकुमार राईले बताए ।

 

अध्यक्ष राईले प्रस्ताव गरेको ठाउँमा टावर बनाउन आर्थिक वर्ष २०७५/७६ कै गाउँसभाले योजना छनोट गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत निर्माण गरेको थियो । तर, जग्गा व्यवस्थापनको कानुनी प्रक्रिया अघि बढाउँदा झन्डै २ दर्जन व्यक्तिको नाममा रहेको जमिन व्यवस्थापन गर्न नसक्दा योजना सुरु हुन नपाएको अध्यक्ष राईले जानकारी दिए ।


व्यक्तिगत जमिन टावरका लागि गाउँपालिकाले माग्दा सहमति नजुटेपछि उब्जेको समस्या जनप्रतिनिधि र प्रशासनबीचको समन्वयबाट अहिले समाधान भएको प्रमुख प्रशासकीय अधिकृत टार्जनकुमार लिम्बूले बताए । 

 

अधिकृत लिम्बुले प्रस्तावित टावर स्थल साविक बाराहा गाउँ विकास समिति वडा नम्बर ६ वडाको १ सय १३ रोपनी जमिनमध्ये ९१ रोपनीभन्दा बढी जग्गा व्यक्तिको नाममा दर्ता रहेको थियो ।

 

‘टावर त्यतिबेलै बनाउन खोजिएको थियो तर धेरैजसो जग्गा व्यक्तिको नाममा भएकाले काममा ढिला भएको हो । व्यक्तिगत जमिन गाउँपालिकाले अधिग्रहण गर्न समय लागेर झन्डै २ वर्ष अल्मलिएको टावर निर्माणको काम गर्ने बाटो अहिले खुलेको छ’, उनले भने ।


टावरका लागि चाहिने जमिन व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय उदयपुरबाट जग्गाको मूल्य तोकेरै मुआब्जा दिने प्रक्रिया अघि बढिसकेको छ । टावर बनाउन चाहिने जमिन गाउँपालिकाको नाममा दर्ता गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला भूमि व्यवस्थापन समिति बैठकले निर्णय गर्नुपर्ने प्रावधान छ ।


प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेको अध्यक्षतामा गत २४ पुसमा बसेको बैठकले ९१ रोपनी ३ आना १३ पैसा ८ दाम जग्गा मुआब्जा दिएर अधिग्रहण गर्ने निर्णय भएको छ । अधिग्रहण गर्न चलनचल्तीको मूल्य र सरकारी मूल्यलाई समायोजन गरी प्रतिरोपनी ५० हजार रुपैयाँका दरले मुआब्जा दिई अधिग्रहण गर्ने निर्णय भएको प्रजिअ पाण्डेले बताए ।


जिल्ला भूमि व्यवस्थापन समितिको बैठकले जग्गा अधिग्रहण गर्न तोकिएको मुआब्जा दिएर गाउँपालिकाको नाममा नामसारी गरिदिन मालपोत कार्यालयलाई पत्राचारसमेत गरिसकेको छ । मुआब्जा रकम र जमिनको क्षेत्रफल उल्लेख गर्दै ८ माघमा प्रशासनले मालपोतलाई जग्गा रोक्का गर्न पत्राचार गरिएको उल्लेख छ । 


प्रशासनको पत्राचार भइसकेकाले मुआब्जा वितरण गरेर जमिन अधिग्रहण प्रक्रिया अघि बढाइने गाउँपालिकाका लेखा अधिकृत ताराकिरण राईले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले जग्गा अधिग्रहण गर्दा ४९ लाख ७२ हजार ८ सय ९८ रुपैयाँ मुआब्जा वितरण गर्नुपर्ने भएको छ । 

 

सो रकम चालू वर्ष जमिन व्यवस्थापन र मुआब्जाका लागि गाउँसभाबाट विनियोजित बजेटबाट भुक्तानी दिइने अधिकृत राईले बताए । अधिग्रहण गर्नुपर्ने जमिन विभिन्न २१ जनाको परेको गाउँपालिकाकाले जनाएको छ । 


सबैभन्दा बढी मुआब्जा तिलकबहादुर कार्कीले पाउने भएका छन् । २० रोपनी ११ आना १ पैसा १ दाम जमिन अधिग्रहणमा परेर उनले १० लाख ३५ हजार ३ सय ५१ रुपैयाँ मुआब्जा पाउने भएका छन् । त्यस्तै, दोस्रो ठूलो रकम मुआब्जा पाउनेमा मानबहादुर तामाङ छन् । १२ रोपनी १ पैसा १ दाम जग्गाको तामाङले ७ लाख ७ सय ८१ रुपैयाँ मुआब्जा पाउनेछन् । 


जमिन व्यवस्थापनसँगै ३ वर्षअघि सुरु गर्ने भनिएको टावर निर्माण योजना सुरु हुनेछ । यसअघि टावर निर्माण शीर्षकमा झन्डै २० लाख रुपैयाँ हाराहारी खर्च भइसकेको छ ।