close

खाद्यान्न ढुवानी गर्न ल्याएको हेलिकोप्टरमा कर्मचारीको मनपरी भ्रमण

खाद्यान्न ढुवानी गर्न ल्याएको हेलिकोप्टरमा कर्मचारीको मनपरी भ्रमण

Trulli
ADVERTISEMENT

दार्चुला- दार्चुलाको व्यास गाउँपालिका- १ छांगरु तिंकरका स्थानीयका लागि खाद्यान्न ढुवानी गर्न प्रदेश सरकारले पठाएको माउण्टेन एयरको हेलिकोप्टरमा कर्मचारीको मनपरी भ्रमण भएको छ ।


दशैँ, तिहारका लागि व्यासका जनताका लागि खाद्यान्न ढुवानी गर्न आएको हेलिकोप्टरमा प्रदेशका प्रमुख सचिवदेखि जिल्लास्तरसम्मका कर्मचारी र नेताको मनपरी भ्रमण भएको हो ।


व्यासीलाई खाद्यान्न ढुवानी गर्न भन्दै आएको हेलिकोप्टरमा पहिलो दिन मंगलबार पहिलो चरणमा प्रदेशसभा सदस्य गेल्बुसिंह बोहरा, प्रदेशका प्रमुख सचिव रामकृष्ण सुवेदी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहाल, डिभिजन वन कार्यालय डडेल्धुराका वन अधिकृत विष्णुप्रसाद आचार्य, घरेलु तथा साना उद्योग विकास समिति दार्चुलाका प्रमुख गंगा मगरलगायतले भ्रमण गरे ।


प्रदेशसभा सदस्य बोहरा भने छांगरुका स्थानीयसमेत हुन् । सम्बन्ध नै नभएको डिभिजन वन कार्यालय डडेल्धुराका वन अधिकृत आचार्यले समेत उनीहरूसँगै छांगरु र तिंकरमा हेलिकोप्टर सवार गरेर फर्किएका छन् । यस्तै, जिल्लास्तरबाट पनि हेलिकोप्टरमार्फत घुम्न व्यास पुगेका छन् ।


व्यास- १ छांगरु र तिंकरका स्थानीयका लागि चामल, दाल, नुन, तेल किन्न सुदूरपश्चिम प्रदेश सरकारले बजेटको व्यवस्थापन गर्न नसकेको समेत पाइएको छ । सुदूरपश्चिम प्रदेश सरकारको विशेष पहलमा व्यासीका लागि खाद्यान्न पुर्‍याएको भन्दै प्रचार गरे पनि व्यास- १ का स्थानीयका लागि चामल, दान, नुन, तेल किन्न स्थानीयले आफँै रकम जम्मा गरेका छन् ।


कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा जारी गरेपछि सरकारले कालापानी क्षेत्रमा आफ्नो उपस्थित जनाएको भन्दै प्रशंसा पाइरहेका बेला व्यासी जनताका लागि दाल, नुन तेल, चिनी किन्नसमेत बजेट दिन नसकेको हो । प्रदेश सरकारले व्यासका लागि विशेष प्याकेज घोषणा गरेको भए पनि अहिले स्थानीयले आफ्नै लगानीमा खाद्यान्न लिएका हुन् ।


प्रदेश सरकारले व्यासमा खाद्यान्न ढुवानीका लागि भन्दै ४५ लाख रुपैयाँ विनियोजन गरेको छ । ‘प्रदेश सरकारले ढुवानीमा मात्र अनुदान दिएको हो’, घरेलु तथा साना उद्योग विकास समिति कार्यालय दार्चुलाका प्रमुख गंगा मगरले भने, ‘त्यसबाहेक चामल, नुन, तेल, चिनी र दाल खरिदको व्यवस्थापनको जिम्म वडा सरकारकै हो । स्थानीयको मागको आधारमा वडाले व्यवस्थापन गर्नेछ ।’


वडा सचिव विनोद बुढाथोकी वडाको बजेट बाँडफाँट भइसकेका कारण अहिले वडाबाट बजेट राख्न नसकिएर केही व्यक्तिबाट लगानी गरिएको बताउँछन् । अहिलेलाई प्रदेशसभाका सांसद गेल्बुसिंह बोहरा, वडा सचिव विनोद बुढाथोकी, नेकपाका नेता जहेन्द्रसिंह ऐतवाल र युवा समाजसेवी योगेश बोहराले व्यासीहरूका लागि खाद्यान्न खरिदमा झण्डै २० लाख रुपैयाँ संकलन गरेको वडा सचिव बुढाथोकीले बताए । उनले भने, ‘अहिले चार जनाले लगानी लगाएर खाद्यान्न ढुवानी गरेका छौँ, पछि बिक्रीपछि स्थानीयबाट रकम जम्मा हुन्छ ।’


भारतले कालापानी नजिकका कुटी, बुदी, गुञ्जीलगायतका गाउँका नागरिकलाई सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउँदै आएको  छ । तर, नेपालतिर रहेका छांगरु र तिंकरका स्थानीयले सरकारबाट खाद्यान्न लिनसमेत बजेट पाएका छैनन् ।


जनतालाई खाद्यान्न उपलब्ध गराउन भन्दा पनि माथिल्लो तहबाट हेलिकोप्टरको सुविधा लिँदै व्यास घुम्नेहरू बढी जाने गरेका छन् । यस पटक व्यासका दुई गाउँका २१५ परिवारका लागि झण्डै १८० क्विन्टल चामल, नुन, तेल, दाल, ढुवानी हुने वडा सचिव बुढाथोकीले बताए । ‘बुधबारसम्म तिंकर गाउँका लागि खाद्यान्न ढुवानी भइसकेको छ’, उनले भने, ‘छांगरुको ढुवानी हुन बाँकी छ ।’