close

लप्चीवासीलाई चरनका लागि खर्क रोक्दै चीन   

लप्चीवासीलाई चरनका लागि खर्क रोक्दै चीन   

Trulli
ADVERTISEMENT

दोलखा- दोलखाको बिगु गाउँपालिका वडा नं. १ लप्चीवासीलाई चीन सरकारले चरनका लागि खर्कमा रोक लगाएको छ । 


२०४२ सालदेखि नेपाल सरकारले  दोलखाको बिगु गाउँपालिका वडा नं. १ लमाबगरमा सीमा प्रशासन कार्यालय स्थापना गरी दुई देशबीच सहमति गर्दै लप्चीवासीलाई चरनका लागि खर्क उपयोग गर्न छुट दिएको थियो । यस वर्षबाट चरनमा रोक लगाएको हो । 


नेपालका लप्चीवासीको मुख्य पेसा चौँरीपालन भएकाले चरन खर्कमा रोक लगाएपछि उनीहरू समस्यामा परेको गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्काले बताए ।  


२०७२ सालको भूकम्पपछि चीन सरकारले लप्चीको सिमानामा छरिएर रहेका वस्तीहरूलाई एकीकृत वस्तीका रूपमा स्थानान्तरण गरेपछि नेपालीहरूलाई यतिबेला दैनिक उपभोग्य वस्तु खरिदमा समेत समस्या परेको छ ।


एकीकृत वस्ती बनाएर चिनियाँ नागरिकलाई राखेपछि चीन सरकारले अनुमतिविना नेपाल जानसमेत उनीहरूलाई रोक लगाएको छ । नेपालीहरूलाई चीन सरकारको अनुमतिविना प्रवेशमा रोक लगाएपछि लप्चीवासी झन पीडामा परेका छन् । लप्चीवासीको उद्धारका लागि सरकारी निकायलाई पहल गरिदिन गाउँपालिका अध्यक्ष खड्काले आग्रहसमेत गरेका छन् । 


दोलखाको चीन जोड्ने उत्तरी नाका लामाबगरमा सशस्त्र प्रहरी बलको ‘बीओपी’को उद्घाटन समारोहमा बिगु गाउँपालिकाका अध्यक्षले अब सिमनाबाट हुने चोरी सिकारी नियन्त्रण हुने विश्वास व्यक्त गरे ।  


गत २९ असारमा मन्त्रिपरिषद्को निर्णयअनुसार वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दीप श्रेष्ठको उपस्थितिमा बिगु गाउँपालिका- २ लामाबगरमा ‘बोर्डर आउट पोस्ट’ स्थापना गरिएको हो । दोलखाको सिमानामा नेपालका ५५, ५६, ५७, ५८, ५९, ६० र ६१ नम्बरका सातवटा पिलर रहेका छन् । 


बीओपीको स्थापना गर्दै वाहिनीपति श्रेष्ठले यस क्षेत्रमा पनि पेट्रोलिङ गरेर सीमाका सातै वटा पिलरहरूको अनुगमन गरी सुरक्षामा सशस्त्र प्रहरी बलले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए । उनले भने, ‘सीमा सुरक्षा गर्दै बीओपीले बिगु गाउँपालिका सम्पूर्ण अप्ठ्यारामा सहयोग गर्नेछ ।’ 


सीमा र जनताको सुरक्षाका लागि सशस्त्र प्रहरी बलले लामाबरमा अहिले अस्थायी प्रकृतिको पोस्ट स्थापना गरेको छ । गाउँपालिकाले  सशस्त्र प्रहरीको कार्यालय स्थापनाका लागि १५ रोपनी जमिन उपलब्ध गराउने निर्णय गरेको छ । अब मन्त्रिपरिषद्बाट पास गर्न मात्र बाँकी छ ।  


मातृभूमि रक्षाका लागि सशस्त्र प्रहरीको भौतिक संरचना निर्माणका लागि स्थानीय, प्रदेश र संघ सरकार मिलेर अघि बढ्ने पालिकाले जनाएको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले पनि सीमा सुरक्षा पोस्ट स्थापनासँगै सीमाबाट हुने चोरी निकासी नियन्त्रण हुने बताए । 
 

पोस्टमा तत्काललाई प्रहरी निरीक्षक गोविन्दप्रसाद पोखरेलको नेतृत्वमा ५० जना सशस्त्र प्रहरीको टोली रहनेछ । कोभिड- १९ का कारण हाल २५ जनाको टोली मात्र लामाबगरमा नाकामा क्याम्प बनाएर बसेको छ ।