close

हुम्लाकाे लिमीवासीका लागि ३ सय क्विन्टल चामल पठाइयो 

हुम्लाकाे लिमीवासीका लागि ३ सय क्विन्टल चामल पठाइयो 

Trulli
ADVERTISEMENT

हुम्ला - ४ महिनादेखि खाद्य संकट भोगिरहेका हुम्लाको नाम्खा गाउँपालिका लिमीका ३ गाउँका बासिन्दाका लागि ३ तीन सय क्विन्टल चामल पठाइएको छ । सरकारी स्वामित्वको खाद्य तथा व्यवस्था कम्पनीको हुम्लास्थित कार्यालयले लिमीमा खाद्यान्न पठाएको हो ।


कोरोनाका कारण चीनसँग सीमा जोडिएको हिल्सा नाका ११ महिनादेखि बन्द हुँदा लिमीका बासिन्दाले खाद्य माग्दै सरकारी निकाय धाइरहेका थिए ।


लिमीका स्थानीयलाई खाद्यान्न समस्या आइलागेपछि नाम्खा वडा- ६ का वडाध्यक्ष पालजोर तामाङ सम्मिलित जनप्रतिनिधि र स्थानीय अन्न जुटाइदिन आग्रह गर्दै सदरमुकाम सिमकोट हिँडैर पुगेका थिए । सिमकोट पुगेर सरकारी निकायसँग हारगुहार गरेपछि लिमीले तत्कालका लागि ३ सय क्विन्टल खाद्यान्न पाएको वडाध्यक्ष तामाङले जानकारी दिए ।


‘हामीलाई चुनेर पठाएका गाउँमा जनता भोकै बस्नुपर्ने चिन्ताले पिरोलेको थियो,’ वडाध्यक्ष तामाङले भने, ‘खाद्यले ३ सय  सय क्विन्टल चामल दिने भएपछि केही राहत भएको छ ।’ 


केन्द्रको निर्देशन आएसँगै लिमीका ३  गाउँमा ३ सय क्विन्टल चामल तत्काल पठाउने तयारी भएको कम्पनीका कार्यालय प्रमुख रामबहादुर विष्टले जानकारी दिए । ‘गाउँपालिकाको रोहबरमा लिमीमा  चामल उपलब्ध गराउँदै छौं । यो तत्कालका लागि हो’, विष्टले भने ।


लिमीको खाद्यान्न संकट समाधानका लागि हुम्लाका प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामा र नाम्खा गाउँपाालिका अध्यक्ष विष्णुबहादुर लामाले पनि सहयोग गरिरहेको विष्टले जानकारी दिए  । लिमीका करिब १ सय ८० घरधुरीको समन्वयमा बसेको बैठकले अब गाउँपालिकामै खाद्य डिपो स्थापनाका लागि पहल गर्ने निर्णय भएको अध्यक्ष तामाङले बताए । 


‘लिमीका ३ गाउँमा हुँदै आएको खाद्य संकट हटाउन यहीँ नै डिपो स्थापना गरिनुपर्ने माग स्थानीयको छ । यसलाई जिल्लाका सरकारी कार्यालयमा पठाइदिएका छौं’, अध्यक्ष तामाङले भने । हिल्सातर्फ नाका बन्द हुँदा लिमीका बासिन्दाले भोगिरहेको खाद्य संकट समाधानका लागि हवाई मार्गबाट भए पनि चामल पुर्‍याइने गाउँपालिका अध्यक्षको भनाइ छ ।