close

अपांगमैत्री ललितपुर महानगरका प्रमुखलाई ४ घन्टा कुर्दा पनि नभेटेपछि...

लगनखेलमा जब हाछेथुको बुट बज्छ, अपांगता भएका दम्पतीको साताे उड्छ

अपांगमैत्री ललितपुर महानगरका प्रमुखलाई ४ घन्टा कुर्दा पनि नभेटेपछि...

लगनखेलमा जब हाछेथुको बुट बज्छ, अपांगता भएका दम्पतीको साताे उड्छ

Trulli
ADVERTISEMENT

ललितपुर– चिसो बढ्दै गएको अवस्थामा न्यानो हुँदै दिउँसोको घाम । पुल्चोकस्थित ललितपुर महानगरको कार्यालयपछाडि रहेको प्रांगणमा एक वृद्ध दम्पती कसैलाई कुरिरहेका छन् ।

 

झरेका सल्लाका पात एक–एक वटा बटुल्दै अम्बिका बजगाईंले एक मुठो नै बनाइन् । पात बटुल्नैका लागि भने उनी त्यहाँ पुगेकी थिइनन् । त्यो त कसैलाई पर्खंदा समय कटाउने मेसो मात्र थियो । उनीसहित वृद्ध श्रीमान् नगरप्रमुख चिरीबाबु महर्जनलाई पर्खिरहेका थिए ।


६१ वर्षीय कर्णप्रसाद बजगाईं र ५०  वर्ष हाराहारीकी अम्बिका दुवै अपांगता भएका व्यक्ति हुन् । २० वर्षदेखि लगनखेलको पेटीमा सानोतिनो फुटपाथ व्यापार सञ्चालन गरेर बसेका यो जोडीको अरु केही गरेर खानसक्ने तागत छैन । ललितपुरकै प्युटार स्थायी घर भएका उनीहरूका ३ छोराछोरी छन् ।


‘व्यापार राम्रो भएको दिन दैनिक डेढ हजारसम्म बचत हुन्थ्यो । मुस्किलले कोठा भाडा तिर्न, परिवार पाल्न, छोराछोरी पढाउन पुगेको थियो’, अहिले भने व्यापार गर्नै नपाएपछि गुनासाको पोको लिएर नगरप्रमुख भेट्न आएका हौं । चार घन्टासम्म पनि भेट हुन सकेन’, वृद्ध दम्पतीको गुनासो छ ।   


त्यही सानो व्यापार गरेर खानका लागि पनि अहिले उनीहरूको बाधक बनेको छ, स्थानीय सरकार । ललितपुर महानगरले नगर प्रहरीको प्रयोग गरी बजार क्षेत्रमा रहेका सबै फुटपाथ व्यवसायीलाई लखेटेको छ ।


भर्खरै आएका नगर प्रहरी प्रमुख सीताराम हाछेथुको नेतृत्वमा नगर प्रहरीको साइरन बजाउँदै जब गाडी घुम्न थाल्छ, फुटपाथ व्यापारीदेखि ठेलागाडामा तरकारी तथा फलफूल बेच्ने व्यापारीहरूको भागाभाग चल्छ । यो दृश्य चोर पुलिस खेलजस्तो छ ।


यही अवस्थाबाट प्रताडित छन्, बजगाईं दम्पती । बेल्ट, पर्स, पोलिस, जिफरका टाउकालगायत सानातिना सामान बेच्दै आएका उनीहरूलाई अहिले व्यापार गर्न सक्ने अवस्था छैन । ‘जब हाछेथुको जुत्ता लगनखेलमा बज्छ, सातोपुत्लो उड्छ ।  सबै भागेपछि खुट्टा खोच्याउँदै भाग्नुको विकल्पै छैन,’ कर्णप्रसाद दुःखी सुनिए ।


ललितपुर महानगरले अशक्तका लागि बाधा नपुग्ने गरी काम गर्ने वातावरण मिलाइदिनुपर्ने उनीहरूको सुझाव छ । ‘अपांगलाई गरिखान दिने व्यवस्था मिलाइदिन नगरप्रमुखले हाम्रो दुःख सुनेर केही गर्थे कि भनेर भेट्न आएका हौं,’ अम्बिका भन्छिन् ।


केही समयअघि मात्र कोरोना संक्रमण  जितेका ललितपुर महानगरका नगरप्रमुख महर्जन आजभोलि नियमित कार्यकक्षमा नभई कार्यालयको बाहिरी प्रांगणमा रहेको नेपाल रेडक्रस सोसाइटीको लोगो र नाम रहेको टेन्टभित्र सेवाग्राहीलाई भेट्ने गरेका छन् ।


त्यही भएर बिहीबार नगरप्रमुखलाई भेट्न आएका सबैलाई त्यही टेन्ट नजिक बस्न भनियो ।  ११ बजे बजगाईं दम्पती कार्यालय पुग्दा अब केही बेरमै आउनुहुन्छ भनेका नगरप्रमुख महर्जन २ बजेसम्म पनि आएनन् ।


कतै माथि कार्यकक्षमै छन् कि भनेर बुझ्दा अघि नै आएर बैठकमा छन् भन्ने महर्जनको सचिवालयका कर्मचारीले जानकारी दिए । सभा हलमा बसेको बैठक सकेर तल टेन्टमा आउँछन् भन्ने कर्मचारीको आश्वासन थियो । तर, एकछिनपछि कर्मचारीबाटै थाहा भयो, मेयरसाप त अघि नै निस्किसक्नुभयो ।


नगरप्रमुख महर्जनले हत्तपत्त कसैको फोन उठाउँदैनन् । त्यसकारण फोन गरेर समय लिन सक्ने कुरै भएन । महानगरले अपांगमैत्री महानगर बनाउने भन्दै तीन तल्लामा बस्ने नगरप्रमुखलाई भेट्न सहज बनाउनैका लागि भर्खरै महानगर कार्यालयमा लिफ्ट जडान गरेको छ । तर, वृद्ध दम्पतीले लिफ्ट नै नचढी बाहिर चौरमा चार–पाँच घन्टा कुर्दा पनि नगरप्रमुखलाई भेट्न पाएनन् ।


अब आश म¥यो भन्दै ३ बजेतिर निराश भएर कर्णप्रसाद र अम्बिका फर्किए । कर्मचारीले हामी पु¥याइदिन्छौं भनेपछि भुइँ तला बस्ने कर्मचारीलाई आवश्यक कागजपत्र छाडेका छन् ।


कर्णप्रसादको माग अपांग/अशक्तलाई  बाधा नपारिदिउन् र नगर प्रहरीले नलखेट्ने गरी एउटा सिफारिस महानगरले बनाइदेओस भन्ने अपेक्षा हो ।


यसअघि पनि एक पटक नगरप्रमुख र उपप्रमुख दुवैलाई भेटेर कुरा गर्न चाहेका हुन्, उनले ।  तर, महानगरमा भेटिएका मेयरले फुर्सद छैन भन्दै गफ गर्न मानेनन् । उपप्रमुखले पनि आपूmहरूको कुरा नसुनेको कर्णप्रसादको गुनासो छ ।