close

बैंक धाउनुपर्दाकाे दु:ख : आउजाउमै सकिन्छ वृद्ध भत्ता

बैंक धाउनुपर्दाकाे दु:ख : आउजाउमै सकिन्छ वृद्ध भत्ता

Trulli
ADVERTISEMENT

दैलेख - जिल्लाको नारायण नगरपालिकाले चालू वर्षको प्रथम चौमासिकअन्तर्गत साउनदेखि कात्तिकसम्मको भत्ता बैंकमा जम्मा गरेको छ । सदरमुकाममा रहेको एनएमबी बैंक शाखाले वृद्ध बाआमालाई पौलैपालो बोलाएर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ ।


नगरपालिकाका ११ मध्ये ९ वडाका ज्येष्ठ नागरिकको खाता सञ्चालन भएपछि कोरोना महामारीका बेला भत्ता बुझ्ने वृद्धावृद्धाको लम्बेतान भीड हुन्छ । नगरपालिकाको वडा-१ कुइकानाकी भूमिसरा थापा मगर अहिले ९० वर्षकी भइन् । सरकारले दिने वृद्ध भत्ता बुझ्न दैलेख सदरमुकाम धाएको तीन दिन भएको उनी सुनाउँछिन् । 

 

‘वृद्ध भत्ता बुझ्न एक्लै आउन सक्दिनँ । साथमा एक जना सहयोगी ल्याउनैपर्छ । हिँड्न सक्दिनँ । गाडी चढेरै आउजाउ गर्नुपर्छ । बुझेको सबै पैसा गाडी भाडा र खानामा गइहाल्छ । अनि हामीले कसरी घर खर्च चलाउने ?’ वृद्ध आमै निराश सुनिन्छिन् ।

 

पहिला वृद्ध भत्ता घरमै गएर दिँदा ज्येष्ठ नागरिकलाई सहज हुन्थ्यो भने सबै पैसा बच्थ्यो । घर खर्च चलाउनसमेत कनिकुथी हुन्थ्यो । यसपालिको दसैंमा नानातिनालाई दक्षिणा दिन नपाएको भूमिसरा सुनाउँछिन् । अहिले बुझेको सबै पैसा खर्च हुने भएपछि उनी थप चिन्तामा छिन् । 


ज्येष्ठ नागरिकले पाउने वृद्ध भत्तामा अनियमितता भएपछि सरकारले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत भुक्तानी सुरु गरेको छ ।  तर, पनि कोरोना महामारीका बेला ज्येष्ठ नागरिकले झनै दुःख बेहोर्नु परेको वडा- ४ कि मैसरा विकले बताइन् । ‘वृद्ध भत्ता बुझ्न सदरमुकाम आए पनि अहिलेसम्म पाउन सकिएन । झन्झटै झन्टझट रहेछ, हामीजस्ता बूढाबूढीलाई’, उनले गुनासो गरिन् ।


आफूजस्तै अरुहरू पनि वृद्ध भत्ता बुझ्न दिनभर लाइनमा बस्दा  थप समस्या भएको उनले जानकारी दिइन् । ज्येष्ठ नागरिक दैलेखका जिल्ला अध्यक्ष बीर बहादुर भण्डारी भने कोरोना महामारीका बेला वृद्धावृद्धालाई संक्रमणको सम्भावना उच्च भएकाले वृद्ध भत्ता वितरण गर्दा सहज बनाइदिनुपर्ने बताउँछन् ।