close

खुलामञ्चको विकल्पमा थापाथलीमा निःशुल्क भोजन

खुलामञ्चको विकल्पमा थापाथलीमा निःशुल्क भोजन

Trulli
ADVERTISEMENT

काठमाडौं - खुलामञ्चमा निःशुल्क खाना खुवाउँदै आएका संस्थाहरूले काठमाडौंको परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल थापाथली नजिक भोजन गराउन सहमत भएका छन् । काठमाडौं महानगर र निःशुल्क भोजन गराउँदै आएका संस्थाहरूबीच बुधबार सहमति भएपछि खुलामञ्चको विकल्पमा थापाथलीलाई छनोट गरिएको हो । 


काठमाडौं महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार पहिला जसरी नै खुलामञ्चमा निःशुल्क भोजनका लागि आएका असहाय, अशक्तलाई भोजन गराउने संघ-संस्थाकै अनुमतिमा  महानगरको पहलमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल नजिक लगेर खाना उपलब्ध गराइने व्यवस्थामा सहमति जुटेको छ ।

 

‘काठमाडौं महानगर क्षेत्रभित्र रहेका असहाय, अशक्त तथा शारीरिक रुपमा काम गर्न नसक्ने महानगरबासीको व्यवस्थापनमा काठमाडौं महानगरपालिका निरन्तर लागिरहेको छ,’ सापकोटाले भने, ‘स्वास्थ्य जोखिम, संक्रमण सम्भावना र सामाजिक प्रतिष्ठा तथा मानव अधिकारको संरक्षण गर्ने उद्देश्यले सार्वजनिक स्थल, खुला क्षेत्रमा सेवा बन्द गरी वैकल्पिक स्थानमा भोजन गराउने नीति महानगरले लिएको छ । हामी त्यसैअनुरुपको पहल गरिरहेका छौं ।’


सापटकोटाले अहिले पनि खुलामञ्चमा निःशुल्क भोजन गराउँदै आएका संस्थाहरूबीच निरन्तर छलफल भइरहेकाले पार्टी प्यालेसजस्ता बन्द ठाउँमा व्यवस्थित गराउन पहल भइरहेको जानकारी दिए । ‘हामी अहिले पनि निःशुल्क भोजन गराउँदै आएका संस्थाहरूसँगकै पहलमा उपयुक्त ठाउँ खोजिरहेका छौं,’ उनले भने, ‘केही दिनभित्रै व्यवस्थापन गर्ने गरी लागेका छौं ।’


निःशुल्क भोजनको गराउने स्थानमा शौचालय, पानीसहित स्वास्थ्य मापदण्डको समेत पालना गर्ने गरी व्यवस्थित बनाउन पहल भइरहेको उनले बताए ।  तर, यी स्थान अस्थायी भएको उनको भनाइ छ ।


‘यहाँसँगै अन्य विभिन्न ठाउँमा पनि हामीले स्थान पहिचान गरेका छौं,’ उनले भने, ‘मेयरज्यूले सार्वजनिक गाडी बढी मात्रामा ओहोर-दोहोर गर्ने ठाउँमा खाना खुवाउनुको सट्टा विकल्प खोजौं भनेपछि त्यहीअनुसार अघि बढेका हौं । उहाँले पूर्व, उत्तर, दक्षिण पायक पर्ने ५-६ ठाउँमा व्यवस्था गर्नुस् भन्नुभएको छ ।  त्यसो गर्दा खुलामञ्चजस्तो दुर्घटनाको डर पनि नहुने ।धुलोधुँवा पनि नहुने उहाँको भनाइ छ ।’ 


महानगर क्षेत्रभित्र रहेका असहाय, अशक्त तथा शारीरिक रुपमा काम गर्न नसक्ने महानगरबासीलाई काठमाडाैं महानगरपालिकाको सहकार्यमा सञ्चालित मानव सेवा आश्रममा खान, बस्न तथा स्वास्थ्योपचार सुविधा उपलब्ध गराएको र  त्यस्ता नागरिकलाई नजिकका वडा कार्यालय वा सीधै मानव सेवा आश्रममा सम्पर्क गर्न अपिलसमेत गर्दै आएको छ ।


दुई दिनअघि मात्रै खुलामञ्च नजिकै, भद्रकाली र लाजिम्पाट आसपासबाट काठमाडौं महानगरको सहकार्यमा मानव सेवा आश्रमले पाँच जनाको उद्धार गरेको जानकारी पनि सापकोटाले दिए ।

 

काठमाडौं महानगरले सार्वजनिक यातायात सुचारु भएको, सार्वजनिक स्थलमा भीडभाड बढेको, स्वास्थ्य मापदण्ड कार्यान्वयनमा समेत जटिलता पैदा भएको भन्दै वैकल्पिक व्यवस्थाका लागि पहल गर्दै आएको छ ।