close

यसरी बने सडक बालक एलिस नेपाली नागरिक

यसरी बने सडक बालक एलिस नेपाली नागरिक

Trulli
ADVERTISEMENT

मकवानपुर- हेटौँडा उपमहानगरपालिका- १ नकौली घर भएका, बाल्यकाल र किशोरावस्था काठमाडौंको पशुपति क्षेत्रमै बिताएका एक सडक बालकले नागरिकता पाएका छन् ।


आर्यघाटमा पैसा, सुन, कपडा खोज्ने, कबाडी टिप्ने र लास जलाउन सहयोग गर्दागर्दै उनी अहिले २२ वर्ष पुगे । आर्यघाटमै रम्दै आएका एलिस तामाङले नागरिकता कस्तो हुन्छ, देख्न पनि पाएनन् ।


२०६६ सालमा बुबा र २०६८ मा आमा गुमाएपछि एलिस टुहुरा बने । एलिसकी आमाले पशुपति क्षेत्रमै प्राण त्यागिन् । एलिसका लागि बाबुआमाको माया, स्नेहमा बाल्यावस्था बिताउने रहर कहरमा परिणत भइदियो ।

 


नागरिकता नहुँदा उनले कयौँ अवसर पनि गुमाए । ११ मंसिर बिहीबारसम्म एलिसले नेपाली नागरिक हुने अधिकार पाएका थिएनन् ।


उनै एलिसको जिन्दगीमा काठमाडौंस्थित बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको संस्था साथ-साथ अभिभावक बनेर आयो ।


संस्थाकी नम्रता लामाले एलिसका अभिभावक खोज्न थालिन् । नम्रताले पूर्व सडक बालबालिकाहरूको संरक्षण गर्दै आइरहेको हेटौँडा- ११ डाङ्डुङ्गेमा रहेको मामाघर नेपालमा एलिसलाई लिएर आइन् ।


नम्रताले मामाघर नेपालका संरक्षक अर्पण पराजुलीलाई एलिसको नागरिकता बनाउन पहल लिइदिन आग्रह गरिन् । उनका बारे नम्रता र पराजुलीले सूचनाहरू संकलन गर्न थाले ।


तीन महिनाको अथक मिहिनेतले १२ मंसिरमा एलिसलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट नागरिकता दिलाउन सफल भएका छन्, साथ साथ र मामाघर नेपाल ।


पहिचान नै गुमाइसकेका एलिसले आफू नेपाली नागरिक भएको प्रमाणपत्र पाएपछि खुसी हुँदै नम्रता र पराजुलीलाई धन्यवाद दिए ।


हेटौँडा उपमहानगपालिका- १ का वडा अध्यक्ष सविन न्यौपानेले आफ्नै वडाका एक किशोर नागरिकताविहीन भएको थाहा पाए । त्यसपछि उनले एलिसको नागरिकता बनाउने पहल अगाडि बढाए ।


‘एलिसको दुःखका कुरा सुनेर मात्र होइन, उनले नागरिकता पाउन कानुनी रूपमा जायज देखिएपछि प्रक्रिया अघि बढाइयो’, उनले भने, ‘एसिलको गाउँ गएर उनका काकालाई भेटेपछि थप सहज भयो ।’


‘एलिसको नागरिकता बनाउन मामाघर नेपालको मात्र साथ, सहयोग नभई हेटौँडा- १ का वडा अध्यक्ष न्यौपानेको पनि ठूलो मिहिनेत छ’, मामाघर नेपालका संरक्षक पराजुलीले भने ।


सडक बालक एलिसबारे धेरै भिडियो डकुमेन्ट्रीहरू पनि बनेका छन् । उनै एलिसको परिवार खोजी गर्ने क्रममा घर मकवानपुर बसामाडी र बुबाको नाम धोजबहादुर भएको पत्ता लाग्यो ।


पशुपति आर्यघाट सेवा केन्द्रले उनकी आमा पनि पशुपतिमै बसेको अवस्थामा २०६८ सालमा मृत्यु भएको कागज दिएको थियो । तर, नाता प्रमाणित हुने कुनै कागज नभएकाले उनको बुबाको नागरिकताको फोटोकपी फेला परेको पराजुली सुनाउँछन् ।


बसामाडी ठेगाना खुलेपछि हेटौँडा- ३ का वडा अध्यक्ष रामकुमार पुडासैनीसँग पनि सम्पर्क भएको पराजुलीले बताए । ‘वडा अध्यक्ष पुडासैनीलाई सम्पर्क गर्दा उहाँले यो अहिलेको १९ नम्बर वडामा पर्छ भन्नुभयो । त्यसपछि १९ नम्बरका वडा अध्यक्ष नवराज सुवेदीसँग सम्पर्क गर्दा उहाँले पनि यो ठाउँ हाल वडा- १ मा पर्ने बताएपछि वडा अध्यक्ष न्यौपानेको सम्पर्कमा पुग्न सफल भयौँ’, पराजुलीले भने ।


खोज्दै जाँदा एलिसको घर नकौली पत्ता लागेपछि नम्रता नकौली पुगिन् । एलिसका काका प्रतापसिंह तामाङले नागरिकता बनाउने प्रक्रियामा सहयोग गरेका थिए ।