close

विद्यालयमा धारा चुहिन छाड्यो: घरबाटै पानी बोेकेर स्कुल जाँदै विद्यार्थी

विद्यालयमा धारा चुहिन छाड्यो: घरबाटै पानी बोेकेर स्कुल जाँदै विद्यार्थी

Trulli
ADVERTISEMENT

रुकुम पूर्व- रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्र ६ मा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालय छिप्रिदहमा खानेपानी अभाव भएपछि विद्यार्थी-शिक्षकले सास्ती बेहोर्नुपरेको छ । विद्यालयमा २ सातादेखि खानेपानीको समस्या देखिएको हो । 


२ सातादेखि विद्यालयमा आउने पानी अवरुद्ध भएपछि खानेपानीका साथै शौचालय र सरसफाइमा समस्या परेको छ । विद्यालयमा खानेपानी नआएपछि विद्यार्थीले घरबाटै पानी बोक्ने गरेका छन् । 

 

घरमा गएर पानी पिएर अथवा पानी विद्यालयमा ल्याउँदासम्म कहिलेकाहीँ कक्षा छुट्ने गरेको विद्यार्थीको गुनासो छ । विद्यालयमा खानेपानी नहुँदा पठनपाठनमा मन लगाएर पढ्न सक्ने अवस्था नभएको उनीहरू सुनाउँछन् । ‘विद्यालय समयमा शौच गर्ने पानी नै छैन । पानीको समस्याले आजित भइसकेका छाैँ’, विद्यार्थीको सामूहिक गुनासो छ ।


खानेपानी समस्या समाधानका लागि सम्बन्धित निकायसमक्ष राखे पनि चासो नदेखाएको विद्यालयले जनाएको छ । पहिले बाँसपाटामा रहेको एउटा ट्यांकीबाट नियमित पानी आइरहेको थियो । ट्यांकी फेरेर पाइप जडान गरेपछि खानेपानी अवरुद्ध भएको विद्यालयका प्रधानाध्यापक मोहनबहादुर केसीले जानकारी दिए । 


‘खानेपानीको समस्या वडा कार्यालयसमक्ष राख्दा वडाध्यक्षले जहाँ उपयुक्त हुन्छ, त्यहीबाट पाइप जडान गरेर लैजानुस् भने । प्राविधिकले अटेरी गरिरहेका छन्’, प्रधानाध्यापक केसीले भने ।

 

प्लम्बरलाई पटक-पटक विद्यालयमा देखिएको पानीको समस्या समाधान गरिदिन आग्रह गरे पनि अहिलेसम्म वास्ता नगरेको उनको भनाइ छ ।