close

महोत्तरीमा निरन्तरको वर्षाले रातु वरपरका स्थानीयमा त्रास

महोत्तरीमा निरन्तरको वर्षाले रातु वरपरका स्थानीयमा त्रास

Trulli
ADVERTISEMENT

महोत्तरी– बर्खा सुरु भएसँगै रातु नदीमा उर्लने बाढीको भेलले स्थानीय मदन गिरीलाई निद्रै लाग्दैन । बर्सेनि नदीले बनाउँदै लगेको फराकिलो दायराले हरेक बर्खायाममा जोखिमको दूरी साँघुरिँदै गएको गिरीको अनुभव छ ।

 

रातु वरपर जग्गा–जमिन हुने कैयौँले नदी कटानका कारण उत्पादन हुने उर्बर भूमि गुमाउँदै गएका छन् । तटीय क्षेत्रमा बसोबास गर्नेहरू घरबारविहीन बनेका छन् भने धनजनको क्षति हुँदै आएको छ ।

 

गिरीलाई आँखै अगाडि छिमेकी र आफ्नो कैयौँ बिघा उर्बर भूमि बगर बनाएको झलझली याद आइरहन्छ । तराईमा २ दिनदेखि भएको अविरल वर्षाले यतिबेला मराहा, जंगाहा र रातु नदी उर्लिरहेका छन् ।

 

बर्दिबास नगरपालिकाभित्रको पतलैया, किसाननगर, जुरेटोलको वरपरको माटो कटान गर्दै नदीले यतिबेला आफ्नो दायरा बढाउँदै लगेको छ । घरवास र खेतीयोग्य जमिन रहँदैन कि भन्ने चिन्ताले यतिबेला तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणमा त्रास बढाएको छ ।

 

स्थानीय तहले अझै सुरु गरेनन् पूर्वतयारी
 

बाढीका कारण निम्तन सक्ने जोखिमका लागि महोत्तरीका कुनै पनि स्थानीय तहले पूर्वतयारी गरेका छैनन् । बर्सेनि रातु नदीको वितण्डाले बर्दिबास नगरपालिकामा मात्र हैन, भंगाह, धनुषाको मिथिला नगरपालिकालगायत ठाउँ प्रभावित बनाए पनि पूर्वतयारीमा खासै ध्यान दिएको पाइँदैन ।

 

पछिल्लो केही वर्षयता जनताको तटबन्ध बन्न लागेपछि नदी किनारमा रहेका उर्बर भूमि बगाउने र कटान गर्ने प्रक्रिया रोकिएको छ । तर, जताभावी फडानी र तटबन्ध नजिकै खेती लगाउने मानवीय क्रियाकलापले महोत्तरीमा नदीको वितण्डा बढ्दै गएको छ ।

 

अविरल वर्षासँगै नदीमा पानीको सतह बढ्दै गएको छ । तर, अहिलेसम्म जोखिम क्षेत्रका स्थानीय तहले सम्भावित जोखिम न्यूनीकरणका लागि विपद् व्यवस्थापन समितिको बैठकसमेत बोलाउन सकेका छैनन् ।

 

स्थानीय सरकारले खोलाको अनियन्त्रित दोहनलाई रोक्न नसक्दा नदीको सतह नै परिवर्तन भएको छ । मापदण्डविपरीत खुलेका क्रसर उद्योग र ट्रयाक्टर व्यवसायीले नदीजन्य वस्तुको दोहनलाई निरन्तरता दिँदा बर्सेनि जोखिमको शृंखला बढिरहेकामा विज्ञको चिन्ता छ । प्राध्यापक तथा वातावरणविद् विजय सिंह अनियन्त्रित चुरे दोहनको कारण सर्वसाधारणले विपद्को सामना गर्नु परेको बताउँछन् ।

 

महोत्तरीमा रातु नदीले असर पुग्ने क्षेत्र 

 

रातु नदीमा आएको बाढीले बर्दिबास वडा नम्बर ३ का शमशेर थापाले २०५३ तिर एकै रातमा बिघौँ जग्गा गुमाउनुप¥यो । थापाका सन्धियार रिसाल र दाहाल परिवारले हेर्दाहेर्दै दसौँ बिघा जग्गा गुमाए । जनताको तटबन्ध बन्न थालेपछि भने वर्षौ पहिला सोही बाढीले बगाएको खेतमा अहिले उनीहरूले पुनः खेती थालेका छन् ।

 

जनताको तटबन्ध बनेका पाटु, कालापानीजस्ता ठाउँमा पहिलेको तुलनामा कम कटान गरे पनि जुरेटोल, पतलैया, किसाननगर, पतलैयालगायत स्थानमा तटबन्धका लागि ध्यान नदिँदा स्थानीयमा त्रास कायमै छ ।

 

विशेषगरी महोत्तरीको बर्दिबास नगरपालिका बढी नदी प्रभावित क्षेत्रअन्तर्गत पर्दछ । अझ चुरे क्षेत्रअन्तर्गत पर्ने भएकाले वन तथा वातावरण मन्त्रालयले बर्दिबासलाई संवेदनशील स्थानमा राखेको छ ।

 

किन निम्तँदै छ जोखिम ?

 

अनियन्त्रित नदीजन्य वस्तुको दोहनले पनि रातु, मराहा र जंगाहा नदीले वरपरका बस्ती तथा उर्बर भूमि जोखिममा परेको स्थानीय बताउँछन् । मापदण्डविपरीत प्रारम्भिक वातावरणीय परीक्षण मूल्यांकनबिनै नदीको सतह बिग्रने गरी माटो, ढुंगा, बालुवा कोतरिनुले विपद् निम्तिरहेको उनीहरूको गुनासो छ ।

 

नदीजन्य वस्तु उत्खनन गर्दा मेसिन तथा हेभी इक्युपमेन्ट प्रयोग गर्न नपाइने व्यवस्था छ । तर, नगरपालिका नै त्यसलाई बेवास्ता गरेर गत जेठमा खोलाभरि जेसिबी हाल्न अनुमति दिँदै किसाननगर, पशुपतिनगर, पतलैया, जुरेटोल खण्डमा ठेक्का लगाएको थियो ।

 

स्थानीयले वर्षायाममा उत्खननकै कारण विपद् सामना गर्नुपर्ने भएकाले यसबारे नगरपालिकालाई पटक–पटक ध्यानाकर्षण गराएका थिए । अहिले सोही ठाउँमा नदीले वरपरको जमिन कटान गर्दै गएको छ भने उर्बर भूमिमा सिँचाइ अभाव देखिन थालेको छ । सोही कारण स्थानीय कृषि कर्मबाट पलायन हुने स्थिति सिर्जना भएको छ ।