close

पदस्थापनको पाँचौँ वर्ष प्रवेश अवसरमा जनप्रतिनिधिले रोपे बिरुवा

पदस्थापनको पाँचौँ वर्ष प्रवेश अवसरमा जनप्रतिनिधिले रोपे बिरुवा

Trulli
ADVERTISEMENT

रूपन्देही- तिलोत्तमा नगरपालिकामा जनप्रतिनिधिले पदस्थापन गरी कार्यारम्भ गरेको सोमबार ४ वर्ष पूरा भएको छ । तिलोत्तमा नगरपालिका स्थापनापछि पहिलो पटक २०७४ १४ असारमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले २१ असारमा पदस्थापनसँगै काम थालेका थिए । 


पदस्थापनको पाँचौँ वर्ष प्रवेश अवसरमा जनप्रतिनिधिले सोमबार नगर कार्यपालिका कार्यालय परिसरमा वृक्षारोपण गरे । ‘ग्रीन तिलोत्तमा: क्लिन तिलोत्तमा’ नारासहित हरियाली प्रवद्र्धन र सरसफाइलाई प्राथमिकतामा राख्दै आएको तिलोत्तमाले पदस्थापनको पाँचौँ वर्ष प्रवेश अवसरमा वृक्षारोपण आयोजना गरेको हो । 


वृक्षारोपण कार्यक्रम सुरु गर्दै कार्यवाहक नगरप्रमुख जागेश्वरदेवी चौधरीले सीमित स्रोत-साधनका बाबजुद तिलोत्तमाले आफ्नो पहिचान स्थापित गर्ने गरी काम गरिरहेको दाबी गरिन् । ‘४ वर्षमा जे-जति काम भए, त्यसले नगरपालिकाले गन्तव्य तय गरेको छ । यो अवधिमा नगरपालिकाले अघि सारेका विभिन्न विकास निर्माणमा सबैबाट प्राप्त सहयोग, सहकार्य र समन्वयले तिलोत्तमाको गरिमा बढाएको छ’, उनले भनिन् । 

 

प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले नयाँ नगरपालिका भए पनि तिलोत्तमाले छोटो अवधिमा धेरै राम्रा काम गर्न सकेको बताउँदै जनप्रतिनिधिको कुशल नेतृत्व र सबैको सहयोगले यो सम्भव भएको बताए । नगर प्रवक्ता सुरेन्द्र श्रीले नगर कार्यपालिकाको पहिलो बैठकले वार्षिक ५० हजार बिरुवा रोप्ने निर्णय गरेअनुरूप पदस्थापनाको पाँचौँ वर्ष प्रवेश अवसरमा वृक्षारोपण गरिएको जानकारी दिए ।