close

विपत्तिले अन्योल भो काठमाडौंको पानी सपना 

विपत्तिले अन्योल भो काठमाडौंको पानी सपना 

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौंबासीका लागि निर्माण गरिएको मेलम्ची खानेपानी आयोजना मेलम्ची नदीमा लगातार आएको लेदोसहितको बाढीका कारण पुनः अनिश्चित बनेको छ ।  मेलम्ची खानेपानी आयोजनाको पानी गत ६ चैत २०७७ पहिलो पटक राजधानीबासीको धारामा खसाइएको थियो । काठमाडौंको महाँकाल चौरमा भण्डारण गरेर राखिएको पानी वितरण गरिएको थियो । 


उक्त पानी मीनभवन, बालाजु, अनामनगर, महाराजगञ्जबाट वितरण गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेल) का प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिएका थिए ।  केयुकेलले केही दिनसम्म ४ करोड लिटर पानी वितरण गरेको थियो । यसलाई क्रमशः बढाउँदै लगिएको थियो ।


पुराना पानी पोखरीमा मेलम्चीको पानी भरेर पुरानै पाइपलाइन र धारामा पानी वितरण गरिएको थियो । आयोजना कार्यान्वयन निर्देशनालयबाट बिच्छ्याइएका नयाँ पाइपलाइनबाट परीक्षण गर्दै लैजाने योजनाअनुसार केयुकेलले पानी वितरण गर्दै आएको थियो । मेलम्चीको पानी परीक्षणका रूपमा उपत्यकामा वितरण गरिएपछि खानेपानीको अभाव खेपिरहेका नागरिकलाई केही सहज भएको थियो । 

 

केयुकेलयुअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको पानी वितरण २० चैतमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन गराएको थियो । सुन्दरीजलमा प्रशोधित पानी उपत्यकाका विभिन्न स्थानमा वितरण हुँदै आएको थियो । मीनभवन, अनामनगर, आरुबारी, महांकाल, बाँसबारी, बालाजु, पानीपोखरी, कीर्तिपुर, भक्तपुरको बोडे र ललितपुरको खुमलटारमा पानीट्यांकी निर्माण भइसकेका छन् ।


सुरुङ परीक्षणका क्रममा २२ फागुनमा सिन्धुपाल्चोकबाट ल्याइएको पानी सुन्दरीजलमा खसालिएको थियो । पहिलो चरणमा सुरुङबाट १७ करोड लिटर पानी ल्याइएको थियो । तर, मेलम्चीमा गत १ असारदेखि लगातार आइरहेको लेदोसहितको सानोठूलो बाढीका कारण आयोजनाको बाँधस्थल पूर्ण रूपमा पुरिएपछि पुनः काठमाडौंबासीलाई आयोजनाको पानी वितरण अवरुद्ध भएको छ ।


आयोजना स्थल पुग्ने पुल, निर्माण उपकरण, निर्माण सामग्री, आयोजनाको क्याम्प बाढीले बगाएर लगेको छ । आयोजनाको मुख्य बाँध स्थल हेडवक्र्स बाढीले पुरेको छ । पुरिएको भाग सबै सफा गएपछि मात्रै कति क्षति भयो भन्न सकिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । हालसम्मको क्षतिको अवस्था हेर्दा १ अर्ब रुपैयाँमाथिको क्षति भएको उनले बताए ।


आयोजना स्थलमा रहेका २ वटा पुल, निर्माण सामग्री राखिएको क्याम्प र मजदुर बस्ने क्याम्प, निर्माण व्यवसायीको निर्माण उपकरण बाढीले बगाएको छ । निर्माण व्यवसायीले अहिलेसम्म कति निर्माण उपकरण बगाएको छ, त्यसबारे जानकारी दिइनसकेको उनले बताए । आयोजना निर्माण स्थल अम्बाथानमा स्थलगत रूपमा पुगेर अझै अध्ययन गर्ने अवस्था नभएको प्रवक्ता पन्तको भनाइ छ । 


हालै विज्ञहरूले मेलम्ची नदी क्षेत्रमा गरेको प्रारम्भिक अध्ययनका आधारमा तत्काल पुनर्निर्माण गरेर काठमाडौंमा पानी पठाउन सक्ने अवस्था नरहेको उनले जानकारी दिए । उनका अनुसार आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएकाले नियमित मर्मत गर्न सकिए आउँदो पुस, माघबाट अस्थायी रूपमा काठमाडौंमा पानी पठाउन सकिने अनुमान छ ।  तर, गत १७ साउनमा विज्ञहरूबाट सो क्षेत्रको निरीक्षण भएपछि पहिरो नियन्त्रण गर्न सक्ने अवस्था नदेखिएको उनले बताए । 


आयोजना स्थल पुग्न बाटो र पुल बन्न पनि निकै समय लाग्ने भएको छ । मेलम्चीदेखि आयोजना स्थलसम्म ५ वटा पुल बगेका छन् । अहिलेसम्म पैदल मार्गबाट आयोजना स्थलसम्म जान सक्ने अवस्था नभएकाले वर्षा रोकिएपछि मात्रै विस्तृत अध्ययन गर्ने तयारी छ । प्रवक्ता पन्तले भने, ‘हामीले हिउँदमा अस्थायी रूपमा काठमाडौंमा पानी पठाउन सकिने सोचेका थियौँ । वर्षा र माथिबाट लेदोसहितको बाढी आउने क्रम रोकिएको छैन । वर्षायामपछि बाढीपहिरो स्थिर भए मात्रै काम अघि बढाउन सकिन्छ ।’


आयोजनाको काम पूर्ण रूपमा सम्पन्न नहुँदै गत वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरे पनि मेलम्ची नदीमा मुहानस्थलदेखि ठाउँ–ठाउँमा पहिरो गएको र लगातारको बाढीले आयोजनास्थलै पुरेपछि मेलम्चीको पानी काठमाडौं कहिले आइपुग्छ, अनिश्चित भएको छ ।