close

रक्षक नै भक्षक भएपछि...

रक्षक नै भक्षक भएपछि...

Trulli
ADVERTISEMENT

जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष रामबहादुर नेपालीले स्थानीय एक युवालाई दाम्लोमा बाँधेर कुटपिट गरेका छन् ।


वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण भइरहेका बेला होहल्ला गरेको बात लगाएर वडाध्यक्ष नेपालीले स्थानीय २२ वर्षीय सर्पे दमाईलाई दाम्लोमा बाँधेर कुटपिट गरेका हुन् ।


वडाध्यक्ष नेपालीले दमाईलाई दाम्लोले बाँधेर कुटपिट गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि यो विषय मिडियामा समाचार बनेको हो । 


भिडियोमा वडाध्यक्ष नेपाली आफैंले कुटपिट गरिरहेको देख्न सकिन्छ । भिडियो हालै सार्वजनिक भए पनि उक्त घटना गत १५ साउन दिउँसो ३ बजेतिर भएको स्थानीयले बताए ।


अत्यधिक मदिरा सेवन गरेका दमाईले सामाजिक सुरक्षा भत्ता बुझ्न वडा कार्यालयमा जम्मा भएका २ सय बढी लाभग्राहीलाई अश्लील शब्द बोल्नुका साथै ढुंगामुढा प्रहार गर्न थालेपछि नियन्त्रणमा लिई सम्झाइ–बुझाइ गरेको वडाध्यक्ष नेपालीले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।


तर, जनप्रतिनिधिले नै एक युवकमाथि अमानवीय ढंगको व्यवहार गर्नु गलत भएको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताए । 


वडाध्यक्ष नेपालीले नियन्त्रणमा लिएर युवकलाई कुटपिट गरेपछि प्रहरीलाई खबर गरिएको थियो । इलाका प्रहरी कार्यालय पञ्चालाको प्रहरी आएर युवकलाई बाँधिएको डोरी फुकाएर सम्झाइ–बुझाइ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका निमित्त प्रमुख प्रहरी निरीक्षक खुमानन्द पाण्डेले बताए ।


प्रमुख पाण्डेले घटनाका विषयमा पीडितले कतै उजुरी नदिएको र घटना सामाजिक सञ्जालमा देखेपछि अमानवीय व्यवहार भएको देखिएकाले थप अनुसन्धानका लागि प्रहरी टोली घटना स्थल पठाइएको जानकारी दिए । 


सामाजिक सुरक्षा भत्ता बुझ्न वडा कार्यालयमा पुगेका नागरिकसामु युवकले मदिरा सेवन गरी अपशब्द बोलेको भए पनि जनताका प्रतिनिधिले वडाध्यक्षले नै अमानवीय तरिकाबाट कुटपिट गर्ने, डोरीले बाँध्ने काम गर्नु शोभनीय नहुने स्थानीय बताउँछन् ।


दाम्लोले बाँधेर कुटपिट गरेको भिडियोलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएपछि प्रकाशित समाचारप्रति अध्यक्ष नेपालीले आपत्ति जनाउँदै १९ साउन २०७८ मा ध्यानाकर्षणसहितको विज्ञप्ति प्रकाशित गर्दै गलत नगरेको दाबी गरेका छन् । अध्यक्ष एमालेको टिकटबाट निर्वाचित वडाध्यक्ष हुन् ।


जुम्लाबाट मानदत्त रावल, मुगुबाट खड्क सुनार