close

सामाजिक सुरक्षा भत्ता बाँड्न नागरिकका घर–घरमा नमोबुद्धका मेयर

सामाजिक सुरक्षा भत्ता बाँड्न नागरिकका घर–घरमा नमोबुद्धका मेयर

Trulli
ADVERTISEMENT

काभ्रे– काभ्रेसको नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगरबासीको घर–घरमा पुग्न थालेका छन् ।

 

नमोबुद्धले अहिले अभियानकै क्रममा सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान नसक्नेहरूका लागि घरघरमै पुगेर भत्ता वितरण गरिरहेको छ । सोही क्रममा नगर प्रमुख तिमल्सिना विभिन्न वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण अभियानमा सरिक भएका हुन् ।

 

नगरका ज्येष्ठ नागरिक, अशक्त व्यक्तिसँग भेटघाट गर्दै उनीहरूको अवस्थाबारे बुझ्ने र सामाजिक सुरक्षा भत्ता वितरण गर्न आफू नागरिकको घरघरमा पुगेको नगर प्रमुख तिमल्सिनाले बताए । 

 

अभियानको क्रममा उनले ज्येष्ठ तथा अशक्त नागरिकको समस्या बुझ्ने र तिनका लागि नगरपालिकाले गर्न सक्ने सहयोगका विषयमा चासोसमेत व्यक्त गरेका
छन् ।

 

उनले ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलगायतका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । मेयर तिमल्सिनाले बिरामी भएर घरमै बसेकाहरूका लागि औषधीसमेत वितरण गरेका छन् । उनले ज्येष्ठ नागरिकका लागि नगरपालिकाले यस वर्ष विशेष कार्यक्रम अघि सारेको बताए ।

 

‘यो वर्ष कान सुन्न नसक्ने १ सय जनाका लागि आवश्यक मेसिन र १ सय जना व्यक्तिका लागि दाँत राख्ने कार्यक्रम अघि सारेको छु,’ नगरप्रमुख तिमल्सिनाले भने, ‘मोतियाबिन्दुको समस्या भएका वृद्ध बाआमाका लागि यसअघि नै निःशुल्क शल्यक्रियाको व्यवस्था नगरपालिकाले मिलाएको छ ।’

 

नमोबुद्ध नगरपालिकाले अहिले गत आर्थिक वर्षको तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान नसक्नेहरूका लागि घरघरमै मोबाइल बैैंकिङमार्फत भत्ता वितरण गरिरहेको हो ।

 

सम्बन्धित बैंकका कर्मचारीसहित अशक्त व्यक्तिको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिँदैछ । यो अभियानअन्तर्गत हालसम्म बैंकसम्म जान नसक्ने वृद्धवृद्धा, अशक्त र दीर्घरोगी गरी ४६ जनाको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको सामाजिक सुरक्षा शाखा प्रमुख श्याम खनालले जानकारी दिए । 

 

नमोबुद्धमा सामाजिक सुरक्षा भत्ता पाउने सूचीमा ३ हजार २ सय ९१ जना रहेका छन् । त्यसमध्ये मासिक ३ हजार रुपैयाँ भत्ता पाउने ७० वर्षमाथिका ज्येष्ठ नागरिक १ हजार ९ सय २ जना छन् भने २ हजार रुपैयाँ मासिक सामाजिक सुरक्षा भत्ता पाउने ६० वर्षमाथिका दलित ज्येष्ठ नागरिकको संख्या १ सय २१ रहेको
छ । 

 

यस्तै, २ हजार रुपैयाँ मासिक भत्ता पाउने ज्येष्ठ नागरिक एकल महिला ३ सय ९३ तथा २ हजार रुपैयाँ नै भत्ता पाउने विधवा ५ सय २ जना रहेका छन् ।

 

यसैगरी मासिक ३ हजार भत्ता पाउने पूर्ण अपांगताको संख्या ७१, मासिक १६ सय पाउने आंशिक अपांगता भएकाको संख्या ७५ तथा मासिक ४ सय रुपैयाँ भत्ता पाउने दलित बालबालिका (जन्मेदेखि ५ वर्षसम्मका) को संख्या २ सय २७ छ । 

 

नमोबुद्धले २०७५ देखि नै अशक्त र दीर्घरोगीलाई घरघरमै बैंकका कर्मचारीसहित पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो ।