close

एक सातादेखि फोहोर नउठ्दा बटौली दुर्गन्धित

उपमहानगरले नउठाएपछि स्थानीयले सडकमा फाले फोहोर 

एक सातादेखि फोहोर नउठ्दा बटौली दुर्गन्धित

उपमहानगरले नउठाएपछि स्थानीयले सडकमा फाले फोहोर 

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीको बुटवल उपमहानगरले एक सातादेखि फोहोर उठाउन नसक्दा सहर नै दुर्गन्धित भएको छ । उपमहानगरले फोहोर नउठाएपछि घर–घरबाट स्थानीयले सडकमा ल्याएर फोहोर फाल्न थालेका छन् । 


बुटवलका मुख्य चोक पुष्पलाल पार्क, मिलनचोक, होराइजन चोक, बसपार्क तथा गोलपार्कलगायत स्थानमा फोहोरका डंगुर थुप्रिएका छन् । बुटवल उपमहानगरले हाल फोहोर विर्सजन गर्दै आएको डम्पिङ साइट भरिएकाले फोहोर उठाउन नसकिएको बताएको छ ।


उप–महानगरका वातावरण महाशाखा प्रमुख भूवाप्रसाद लुइँटेलले अर्को साइटको व्यवस्थापन नहुँदासम्म फोहोर नउठ्ने जानकारी दिए । त्यसका लागि अझै २÷३ दिन लाग्ने उनको भनाइ छ । 

 

चोकमा फोहोर थुप्रिएपछि पैदल यात्रु तथा स्थानीयले हिँडडुल गर्न पनि सास्ती भइरहेको बताए । बुटवल वडा नम्बर ९ स्थित न्यू आचार्य मिनीटाउन रेस्टुराँका सञ्चालक बालकृष्ण आचार्यले उप–महानगरले फोहोर उठाउन नआउँदा सेवाग्राही नै आउन छाडेको गुनासो गरे ।

 

उनका अनुसार मिलनचोकमा गत सातादेखि नै फोहोर उठेको छैन । उपमहानगरले फोहोर व्यवस्थापनमा चासो नदिएको आचार्यको भनाइ छ । केही दिनदेखि वर्षासँगै फोहोर लेदो बनेर सडकमा छरिँदा पैदल यात्रीले सास्ती खेप्नुपरेको छ । बुटवलले अस्थायी रूपमा हाल वडा नम्बर ११ स्थित पवित्रा नगरमा पोहोर डम्प गर्दै आएको छ ।


उक्त डम्पिङ साइट भरिएकाले वैकल्पिक अस्थायी डम्पिङ साइटको व्यवस्थापन भइरहेको उपमहानगरले जनाएको हो । वातावरण महाशाखा प्रमुख लुइँटेलले फोहोरको स्थायी व्यवस्थापनका लागि सैनामैना नगरपालिकामा प्रशोधनसहितको डम्पिङ साइट निर्माण अघि बढिरहेको जानकारी दिए ।


सैनामैना नगरपालिका, कञ्चन गाउँपालिका र बुटवलको सहकार्यमा प्रदेश तथा केन्द्र सरकारको सह–लगानीमा निर्माण भइरहेको उक्त डम्पिङ साइटले फोहोर व्यवस्थापनको चुनौतीलाई दीर्घकालसम्म समाधान गर्ने उनको दाबी छ । उक्त साइटको प्रारम्भिक वातावरणीय मूल्यांकन र साइट क्लियरेन्सको काम सम्पन्न भइसकेको वातावरण महाशाखा प्रमुख लुइँटेलले बताए ।