close

शंकरपुरमा मस्जिद र मदरसा निर्माण : जुमाको नमाज पढेर मस्जिद उद्घाटन

शंकरपुरमा मस्जिद र मदरसा निर्माण : जुमाको नमाज पढेर मस्जिद उद्घाटन

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीको सिद्धार्थनगर वडा नम्बर ११ शंकरपुरमा मस्जिद पुनर्निर्माण भएको छ । २०६२ मा निर्माण भएको मस्जिद हाल निर्माणाधीन गौतमबुद्ध विमानस्थलको अधिग्रहणमा परेपछि मदरसासहितको मस्जिद पुनर्निर्माण गरिएको हो । 


२ कठ्ठा ६ धुर क्षेत्रफलमा करिब १ करोड रुपैयाँ लागतमा मदरसा र मस्जिद निर्माण भएको मदरसा अरविया अहले सुन्नत नुरुल ओलुमका अध्यक्ष मोहम्मद मुस्तफाले बताए । 

 

‘बाल विकासदेखि कक्षा ५ सम्म पढाइ हुने र एकैसाथ २ सय जनासम्मले सामूहिक प्रार्थना गर्न मिल्ने गरी मस्जिद निर्माण भएको छ । शुक्रबार जुमाको नमाज पढाएर मस्जिद उद्घाटन गरियो । अब यहाँ नियमित दैनिक ५ पटक नमाज हुन्छ’, अध्यक्ष मुस्तफाले भने । 

 

विमानस्थलको मुआब्जाबापत आएको ७० लाख, सिद्धार्थनगर वडा समितिमार्फत आएको ५ लाख रुपैयाँ र स्थानीय मुस्लिम समुदायको आर्थिक सहायतामा मस्जिद तथा मदरसा निर्माण भएको मदरसा व्यवस्थापन समितिले जानकारी दिएको छ । 

 

मस्जिद निर्माणपछि अब शंकरपुरका साथै धर्मपुर, कचरिहवा आसपासका मुस्लिम समुदायले सामूहिक प्रार्थना गर्न पाउनेछन् । कक्षा ५ सम्म मुस्लिम दिनियात तालिमसहितको नेपाली पाठ्यक्रममा आधारित शिक्षा मदरसाबाट प्राप्त हुने समितिले बताएको छ । 

 

मस्जिदको मरहरा सरिफका पिरे तरिकत मौलाना शाहिद रजा जैदी र पिरे तरिकत शहजादे मुक्तरुल औलिया मशउद रजा किब्ला वराव शरिफले जुमाको नमाज पढाएर उद्घाटन गरे ।

 

सो अवसरमा वक्ताहरूले नमाज पढेरै आत्माको शान्ति हुनुका साथै, शारीरिक अभ्यास र स्वस्थ रहन सकिने बताए । नमाज सिक्ने र पढ्ने ठाउँ एकै थलोको रूपमा विकास भए पनि यसलाई स्थानीयले प्रयोग गरी संस्कृति र संस्कारको संरक्षण गर्नुपर्ने उनीहरूको धारणा छ ।


करिब ६ महिनाअघि शिलान्यास गरेका प्रमुख अतिथि पिरे तरिकत शाहिद रजाले मस्जिद बनाएर मात्र नभई यहाँ नियमित रूपमा धेरैभन्दा धेरै नमाजीको सहभागिता हुनुपर्ने बताए । 


स्थानीय मौलाना तथा मोलवीको उपस्थितिमा सुरु गरिएको मस्जिद निर्माणका लागि अध्यक्ष मोहम्मद मुस्तफा तथा सदस्य मकबुल अहमद, मुस्ताक अहमद, मनौअर अलि, कमरुद्दीन पठान, मोहम्मद शइद शेख, जलालुद्दिन पठान, मोहम्मद युसुफ शेख, इब्राहिम खानलगायतको अग्रसरतामा निर्माण सम्पन्न भएको हो ।